२०८३ भदौ २८ , आइतबार

दुरुपयोग बढेपछि सिम्ता गाउँपालिकाले जनप्रतिनिधि र कर्मचारीबाट फिर्ता माग्यो मोटरसाइकल



सुर्खेतकाे सिम्ता गाउँपालिकाले जनप्रतिनिधि तथा कर्मचारीले प्रयोग गर्दै आएका गाउँपालिकाको स्वामित्वका मोटरसाइकल सम्बन्धित शाखामा फिर्ता बुझाउन निर्देशन दिएको छ।

प्रमुख प्रशासकीय अधिकृत धनीराम शर्माद्वारा जारी परिपत्रमा गाउँ कार्यपालिकाको २०८३ असार २८ गतेको निर्णयअनुसार गाउँपालिकाको स्वामित्वमा रहेका दुई पाङ्ग्रे सवारीसाधन कार्यालयको आधिकारिक प्रयोजनबाहेक अन्य कुनै पनि काममा प्रयोग गर्न नपाइने उल्लेख गरिएको छ।

परिपत्रअनुसार कार्यालयको कामका लागि सवारीसाधन आवश्यक परेमा सम्बन्धित शाखामार्फत लगबुक भरेर मात्रै उपलब्ध गराइने व्यवस्था गरिएको छ। साथै, सवारीसाधनको मर्मतसम्भार तथा इन्धन व्यवस्थापनको जिम्मेवारी पनि सम्बन्धित शाखाले नै गर्ने गाउँपालिकाले जनाएको छ।

हाल जनप्रतिनिधि तथा कर्मचारीको प्रयोगमा रहेका मोटरसाइकल २०८३ असोज मसान्तभित्र सम्बन्धित शाखामा अनिवार्य रूपमा फिर्ता बुझाइसक्न गाउँपालिकाले निर्देशन दिएको छ।

सार्वजनिक सम्पत्तिको संरक्षण, सवारीसाधनको दुरुपयोग नियन्त्रण तथा कार्यालयको कामकारबाहीलाई थप व्यवस्थित र पारदर्शी बनाउने उद्देश्यले उक्त निर्णय कार्यान्वयनमा ल्याइएको गाउँपालिकाले जनाएको छ।

प्रकाशित मिति : २०८३ साउन २१ गते बिहीबार

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन।