अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन लाख रुपैयाँ घुससहित भूमि प्रशासन कार्यालय, लगनखेलका तीन नायब सुब्बासहित पाँच जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भूमि प्रशासन कार्यालयका नायब सुब्बा उत्तम कुँवर, विशाल सुन्दास र राजकुमार मगर तथा लेखापढी व्यवसायी शैलेन्द्र रानामगर र समिर कटवाल रहेका छन्।
अख्तियारका अनुसार जग्गाको बकसपत्र गराइदिने कार्यमा सेवाग्राहीलाई दुःख–हैरानी दिई घुस मागेको भन्ने उजुरीका आधारमा अनुसन्धान अघि बढाइएको थियो।
उक्त सूचनाका आधारमा टंगालबाट खटिएको अख्तियारको टोलीले सेवाग्राहीबाट तीन लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिएको हो।
आयोगले ललितपुर महानगरपालिका–४ स्थित एक होटलबाट घुस रकमसहित स्रोत नखुलेको २४ हजार ८९० रुपैयाँ पनि बरामद गरेको जनाएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।









