लगातारको वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा सडक खण्डमा सवारी आवागमन प्रभावित भएको छ। नेपाल प्रहरीले बिहीबार बिहान सार्वजनिक गरेको विवरणअनुसार केही सडक पूर्ण रूपमा अवरुद्ध भएका छन् भने केही सडकमा रातिको समयमा सवारी सञ्चालनमा अस्थायी प्रतिबन्ध लगाइएको छ।

प्रहरीका अनुसार काभ्रेपलाञ्चोक र सिन्धुली जोड्ने बिपी राजमार्ग अन्तर्गत खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडक खण्डमा सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै दैनिक बेलुका ६ बजेदेखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।
यस्तै, कान्तिलोकपथ मा पनि जोखिमका कारण बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा प्रतिबन्ध लगाइएको प्रहरीले जनाएको छ।
इलाम नगरपालिका–९ स्थित मेची राजमार्ग मा लगातारको वर्षाले सडक हिलाम्मे बनेपछि सवारी आवागमन पूर्ण रूपमा बन्द भएको छ। त्यसैगरी, सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका अन्तर्गत अरनिको राजमार्ग को जिरोकिलो र कोदारी क्षेत्रमा पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।
दोलखाको तामाकोशी गाउँपालिका–५ किर्नेटार स्थित लामासाँघु–रामेछाप सडक खण्ड मा सामाकोशी खोलाको बहावले सडक कटान गरेपछि उक्त सडकमा पनि सवारी सञ्चालन ठप्प भएको छ।
यस्तै, रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टे स्थित पासाङ ल्हामु सडक खण्ड मा त्रिशूली नदीले सडक कटान गरेकाले आवागमन पूर्ण रूपमा बन्द भएको प्रहरीले जनाएको छ। ललितपुरको बागमती गाउँपालिका–३ अन्तर्गत कान्तिलोकपथ मा सुक्खा पहिरो खसेपछि सो सडक पनि पूर्ण रूपमा अवरुद्ध भएको छ।
त्यसैगरी, जाजरकोट–डोल्पा सडक अन्तर्गत मूलपानीखोला मा आएको बाढीले सडक कटान गर्दा उक्त सडकमा पनि सवारी आवागमन पूर्ण रूपमा ठप्प भएको छ।
नेपाल प्रहरीले वर्षायाममा पहिरो, बाढी र सडक कटानको जोखिम उच्च रहेकाले यात्रा गर्नुअघि सम्बन्धित निकायबाट सडकको पछिल्लो अवस्थाबारे जानकारी लिन तथा आवश्यक सतर्कता अपनाउन सबै यात्रुलाई आग्रह गरेको छ।








