२०८३ भदौ २७ , शनिबार

प्रेस काउन्सिल नेपालको अध्यक्षमा सञ्चारकर्मी उमेश श्रेष्ठ



सरकारले डिजिटल पत्रकार तथा तथ्यजाँचकर्ता उमेश श्रेष्ठलाई प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त गरेको छ।

सूचना तथा सञ्चार मन्त्रालयको सिफारिसमा बसेको पछिल्लो मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई प्रेस काउन्सिल नेपालको अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो।

श्रेष्ठ नेपाली भाषाको पहिलो युनिकोड ब्लग ‘माइसंसार’ का संस्थापक तथा ‘नेपाल फ्याक्टचेक’ का सम्पादक हुन्। सञ्चार क्षेत्रमा ‘सालोक्य’ उपनामबाट समेत परिचित उनीसँग छापा, टेलिभिजन, अनलाइन तथा डिजिटल पत्रकारितामा दुई दशकभन्दा बढीको अनुभव छ।

वि.सं. २०३३ सालमा जन्मिएका श्रेष्ठले आमसञ्चार तथा पत्रकारिता विषयमा स्नातकोत्तर तह उत्तीर्ण गरेका छन्। पत्रकारिता यात्राको सुरुवात उनले ‘नयाँ सडक’ र ‘स्पेसटाइम’ राष्ट्रिय दैनिकमा उपसम्पादक तथा ‘सिटी टाइम्स’ मा सम्पादकका रूपमा गरेका थिए।

त्यसपछि च्यानल नेपाल र एभिन्युज टेलिभिजनमा वरिष्ठ संवाददाता तथा प्रोड्युसरका रूपमा पनि कार्यरत रहे।

डिजिटल पत्रकारितामा सक्रिय श्रेष्ठले नागरिकन्युज डटकममा पाँच वर्ष वरिष्ठ संवाददाता, अन्नपूर्णपोस्ट डटकममा करिब एक वर्ष उपसम्पादक तथा पहिलोपोस्ट डटकममा वि.सं. २०७१ साउनदेखि २०७६ असारसम्म पाँच वर्ष सम्पादकका रूपमा काम गरेका थिए।

उनले सन् २००५ अप्रिल ६ मा नेपालकै पहिलो युनिकोड ब्लग ‘माइसंसार डटकम’ सञ्चालनमा ल्याएका थिए। नेपालमा अडियो तथा भिडियो ब्लगिङको सुरुवात गर्ने श्रेयसमेत माइसंसारलाई दिइन्छ।

श्रेष्ठ सेन्टर फर मिडिया रिसर्च (सीएमआर) नेपालका संस्थापक सदस्य पनि हुन्।

उनले सीएमआर जर्नालिज्म एकेडेमीमार्फत सञ्चारकर्मीका लागि तथ्यांक पत्रकारिता, तथ्यजाँच (फ्याक्ट चेकिङ) तथा डिजिटल सुरक्षा सम्बन्धी तालिम सहजकर्ताका रूपमा योगदान दिँदै आएका छन्।

प्रकाशित मिति : २०८३ असार २९ गते सोमबार

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन।