२०८३ साउन ११ , सोमबार

आत्मदाह प्रयासपछि गम्भीर घाइते मुगुका गणेश नेपालीको उपचारकै क्रममा निधन



आत्मदाह प्रयास गरी गम्भीर घाइते भएका मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपालीको वीर अस्पतालमा उपचारका क्रममा निधन भएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी दिलीप घिमिरेका अनुसार सघन उपचारमा रहेका नेपालीको स्वास्थ्य अवस्था थप जटिल बन्दै गएपछि मृत्यु भएको हो।

यसअघि वीर अस्पतालले पत्रकार सम्मेलनमार्फत नेपालीको स्वास्थ्य अवस्था अत्यन्तै अस्थिर रहेको जनाएको थियो। चिकित्सकहरूले उनको अवस्थामा जुनसुकै बेला थप जटिलता आउन सक्ने भन्दै चिन्ता व्यक्त गरेका थिए।

अस्पतालका अनुसार नेपालीको शरीरको करिब ५५ प्रतिशत भाग जलेको थियो। अनुहार तथा श्वासप्रश्वास नलीमा समेत गम्भीर असर परेकाले उपचार चुनौतीपूर्ण बनेको थियो। उनलाई वीर अस्पतालको बर्न आईसीयूमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो।

नेपालीको उपचारका लागि वीर अस्पतालले प्लास्टिक सर्जरी विभागका संयोजक डा. पीयूष दाहालको नेतृत्वमा २१ सदस्यीय विशेष उपचार टोली परिचालन गरेको थियो। टोलीमा युनिट प्रमुख डा. अपार लामिछाने, क्रिटिकल केयरका डा. निर्माण ज्ञवाली, एनेस्थेटिस्ट जयप्रकाश ठाकुर, प्रा. डा. रविराम श्रेष्ठ तथा नर्सिङ सेवाका स्वास्थ्यकर्मीहरू संलग्न थिए।

स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि उनलाई थप उपचारका लागि भारतको नयाँ दिल्ली लैजाने तयारीसमेत गरिएको थियो। तर अवस्था स्थिर नभएकाले स्थानान्तरण गर्न सम्भव नभएको अस्पतालले जनाएको थियो।

चिकित्सकहरूको निरन्तर प्रयासका बाबजुद नेपालीको उपचारकै क्रममा निधन भएको हो।

प्रकाशित मिति : २०८३ असार २६ गते शुक्रबार

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन।