२०८३ भदौ २७ , शनिबार
देशभर वर्षा

आज देशभर वर्षाको सम्भावना, लुम्बिनी–कर्णाली–सुदूरपश्चिममा भारीदेखि धेरै भारी वर्षाको चेतावनी



देशभर मनसुनी वायुको प्रभाव रहँदा शनिबार विभिन्न प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय क्षेत्र सरदर आसपास रहेकाले वर्षासँगै बाढी–पहिरोको जोखिम पनि बढेको छ।

शनिबार बिहान गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रहेको छ भने बाँकी प्रदेशमा आंशिक बदली भएको महाशाखाले जनाएको छ। सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको छ।

महाशाखाका अनुसार दिउँसो देशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षा तथा हिमपातको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थानमा तथा मधेस, कोसी, बागमती र गण्डकी प्रदेशका तराईका एक–दुई स्थानमा मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ।

राति भने गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भूभागका धेरै स्थानमा वर्षा हुने सम्भावना रहेको छ। कोसी, मधेस र बागमती प्रदेशका पहाडी भूभागका केही तथा तराईका थोरै स्थानमा पनि मेघगर्जन र चट्याङसहित वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

गण्डकी प्रदेशका पहाडी तथा तराई भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना छ। त्यस्तै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भूभागका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरिएको छ।

काठमाडौँ उपत्यकामा पनि वर्षाको सम्भावना

काठमाडौँ उपत्यकामा पनि शनिबार दिउँसोपछि बादल बढ्दै मध्यमसम्म वर्षा हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन्। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सरोज पुडासैनी का अनुसार उपत्यकामा दिनभर साधारणतया बदली रहनेछ।

उनका अनुसार दिउँसो २ बजेपछि वर्षाको सम्भावना बढ्ने र राति पनि पानी पर्न सक्ने अनुमान छ। काठमाडौँ उपत्यकामा वर्षाको सम्भावना करिब ६० प्रतिशत रहेको उनले बताएका छन्।

१६ जिल्लामा आकस्मिक बाढीको जोखिम

वर्षासँगै विभिन्न जिल्लामा बाढी तथा पहिरोको जोखिम बढेको छ। बाढी पूर्वानुमान महाशाखाका अनुसार काठमाडौँ, भक्तपुर, ललितपुर, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, डडेल्धुरा, बैतडी, बझाङ, अछाम, दैलेख, जाजरकोट, सुर्खेत, सङ्खुवासभा र तेह्रथुमलगायत जिल्लामा साना नदी तथा खोलाको बहाव उल्लेख्य बढ्न सक्ने सम्भावना छ।

ती जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम रहेकाले नदी किनार, खोला आसपास तथा पहिरो सम्भावित क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन आग्रह गरिएको छ।

प्रकाशित मिति : २०८३ असार २० गते शनिबार

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन।