२०८३ साउन १२ , मंगलबार

रास्वपामा प्रवेश गरेका गुठिचौर अध्यक्ष दानबहादुर बुढाको पद गयो



नेपाली काँग्रेसबाट निर्वाचित भई जुम्लाको गुठिचौर गाउँपालिकाको अध्यक्ष बनेका दानबहादुर बुढाको पद रिक्त भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेपछि निर्वाचन आयोगले उनको पद स्वतः रिक्त भएको घोषणा गरेको हो।

कार्यकालको अन्तिम वर्षको बजेट ल्याउने तयारी भइरहेका बेला अध्यक्ष बुढाको पद रिक्त भएको हो।

निर्वाचन आयोगले सोमबार सूचना जारी गर्दै राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ३२(१) तथा राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को नियम २२ बमोजिम दल त्याग गरेको जानकारी प्राप्त भएपछि आयोगको २०८३ असार ८ गतेको निर्णयअनुसार बुढाको पद स्वतः रिक्त भएको जनाएको छ।

२०७९ सालको स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसबाट निर्वाचित बुढा केही समयअघि रास्वपामा प्रवेश गरेका थिए। त्यसपछि नेपाली काँग्रेस जुम्लाले उनीविरुद्ध कारबाहीको सिफारिस गरेको थियो। बुढाले भने आफूलाई काँग्रेसले नभई गुठिचौरका जनताले निर्वाचित गराएको भन्दै पद खोस्न चुनौती दिएका थिए।

निर्वाचन आयोगका अनुसार नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले काँग्रेसबाट निर्वाचित केही जनप्रतिनिधिले दल त्याग गरी अन्य दलमा प्रवेश गरेको निर्णयसहित जानकारी गराएपछि आवश्यक प्रक्रिया अघि बढाइएको हो।

बुढासँगै काँग्रेसबाट निर्वाचित अन्य दुई जनप्रतिनिधिको पद पनि रिक्त भएको छ। नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को पाल्हीनन्दन गाउँपालिकाकी उपाध्यक्ष फातिमा खातुन अन्सारी र रुपन्देहीको बुटवल उपमहानगरपालिका–३ का वडा अध्यक्ष विष्णु ढकालको पदसमेत रिक्त भएको आयोगले जनाएको छ।

प्रकाशित मिति : २०८३ असार ९ गते मंगलबार

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन।