२०८३ भदौ २७ , शनिबार

शुभकालिकामा विद्यालय छाडेका किशोरीलाई उद्यमशीलता तालिम



कालिकोटको शुभकालिका गाउँपालिकामा विद्यालय छाडेका किशोरीहरूका लागि ‘आफ्नो व्यवसाय सुरु गरौं र सुधार गरौं (SYB/GYB)’ सम्बन्धी तीन दिने तालिम सम्पन्न भएको छ ।शुभकालिका गाउँपालिका–२ स्थित वडाको सभाहलमा सञ्चालन गरिएको तालिममा विभिन्न वडाका २५ जना किशोरी सहभागी भएका थिए । तालिमको सहजीकरण वीरेन्द्र चौलागाईंले गरेका थिए । किशोरीहरूलाई व्यवसाय योजना, वित्तीय व्यवस्थापन, बजार प्रवद्र्धन तथा उद्यम विकाससम्बन्धी व्यावहारिक ज्ञान प्रदान गरी स्वरोजगारतर्फ उन्मुख गराउने उद्देश्यले तालिम सञ्चालन गरिएको आयोजकले जनाएको छ।

तालिमको पहिलो दिन उद्यमशीलता, व्यवसायिक अवसर पहिचान, क्ध्इत् विश्लेषण, मूल्य शृङ्खला विकास, ब्रान्डिङ तथा बजार विश्लेषणका विषयमा प्रशिक्षण दिइएको थियो । दोस्रो दिन वित्तीय व्यवस्थापन, अभिलेख राख्ने तरिका, लागत तथा मूल्य निर्धारण, ग्राहक सम्बन्ध व्यवस्थापन र व्यवसायको दिगोपनाका विषयमा छलफल गरिएको थियो। सहभागीहरूले आपूर्ति-मागसम्बन्धी खेल तथा व्यावहारिक अभ्यासमार्फत व्यवसाय सञ्चालनका आधारभूत पक्षहरू सिकेका थिए ।

अन्तिम दिन सहभागीहरूले व्यवसाय छनोट गरी व्यवसाय योजना तयार पार्ने र प्रस्तुतीकरण गर्ने अभ्यास गरेका थिए। सहजकर्ता तथा सहभागीहरूबाट प्राप्त सुझावका आधारमा उनीहरूले आफ्ना योजनालाई थप परिमार्जन गरेका थिए ।
उक्त कार्यक्रम नेपाल सरकार, युरोपेली संघ तथा संयुक्त राष्ट्रसंघका एजेन्सीहरूको संयुक्त पहल ‘सशक्त महिला, समृद्ध नेपाल (EWPN)’ कार्यक्रमअन्तर्गत अन्तर्राष्ट्रिय श्रम संगठन (ILO) को पहलमा सेवक नेपालले आयोजना गरेको हो ।

तालिमबाट सहभागीहरूको उद्यमशीलता तथा व्यवसाय व्यवस्थापनसम्बन्धी ज्ञान र सीपमा वृद्धि भएको आयोजकको बताएका छन् । कार्यक्रमले किशोरीहरूलाई आफ्नै व्यवसाय सुरु गर्न तथा आयआर्जनका अवसर सिर्जना गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २०८३ असार ७ गते आइतबार

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन।