प्रधान न्यायाधीश नियुक्तिसम्बन्धी कार्यसूचीसहित संवैधानिक परिषद्को बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सुरु भएको छ।
न्यायपालिकाको नेतृत्व चयन गर्ने संवैधानिक दायित्वलाई प्राथमिकता दिँदै परिषद्को बैठक बसेको हो। यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले गत मंगलबार मात्रै संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेका थिए।
नयाँ व्यवस्थाअनुसार अब संवैधानिक परिषद्को बैठक बस्न ६ सदस्यीय परिषद्मा कम्तीमा चार जना सदस्य उपस्थित भए गणपूरक संख्या पुग्नेछ। यस्तै, परिषद्ले कुनै पनि निर्णय गर्न तीन जना सदस्यको बहुमत आवश्यक हुने कानुनी व्यवस्था गरिएको छ।
संवैधानिक परिषद्को अध्यक्ष प्रधानमन्त्री रहने व्यवस्था छ। परिषद्मा प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपसभामुख, प्रमुख प्रतिपक्षी दलका नेता तथा प्रधान न्यायाधीश सदस्य रहने प्रावधान छ।
हाल परिषद्मा प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह, सभामुख डोलप्रसाद अर्याल, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल, उपसभामुख रुवीकुमारी ठाकुर तथा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता भीष्मराज आङ्देम्बे सदस्य रहेका छन्।
प्रधान न्यायाधीश नियुक्ति कार्यसूचीमा समावेश भएकाले कायममुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्ल बैठकमा उपस्थित छैनन्। बैठकमा कानुनमन्त्री सोविता गौतम भने सहभागी रहेकी छन्।








