२०८३ भदौ २८ , आइतबार

प्रतिनिधिसभा चुनाव: छ क्षेत्रमा नतिजा, एमाले अझै जितविहीन



प्रतिनिधिसभा निर्वाचनको मतगणना जारी रहँदा शुक्रबार साँझसम्म छ वटा निर्वाचन क्षेत्रको अन्तिम परिणाम सार्वजनिक भएको छ।

सार्वजनिक नतिजाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले तीन, नेपाली कांग्रेसले दुई र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले एक निर्वाचन क्षेत्रमा विजय हासिल गरेका छन्।

रुकुमपूर्वबाट नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ निर्वाचित भएका छन्। उनले १० हजार २४० मत प्राप्त गर्दा एमालेका लीलामणि गौतमले ३ हजार ४६२ मत ल्याएका छन्। कांग्रेसकी कुसुमदेवी थापाले ३ हजार ८१ मत प्राप्त गर्दा रास्वपाका लखनकुमार थापाले ८१९ मत पाएका छन्।

काठमाडौं–१ मा रास्वपाकी रञ्जु दर्शनाले १५ हजार ४५५ मतसहित विजय हासिल गरेकी छन्। उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका प्रबल थापाले ६ हजार ३६४ मत पाएका छन् भने राप्रपाका रवीन्द्र मिश्रले ३ हजार ९७२ मत प्राप्त गरेका छन्।

काठमाडौं–८ मा रास्वपाका विराजभक्त श्रेष्ठ २४ हजार ५९२ मतसहित निर्वाचित भएका छन्। उनका निकटतम प्रतिस्पर्धी नेकपाका उम्मेदवार सुमन सायमीले ३ हजार २१७ मत पाएका छन्।

यसैगरी काठमाडौं–६ मा रास्वपाका शिशिर खनाल विजयी भएका छन्। उनले २७ हजार ७११ मत प्राप्त गर्दा कांग्रेसका कृष्ण बानियाँले ६ हजार ६४७ मत पाएका छन्।

मुस्ताङबाट नेपाली कांग्रेसका योगेश गौचन ३ हजार ७०७ मतसहित निर्वाचित भएका छन्। उनका निकटतम प्रतिस्पर्धी एमालेका इन्द्रधारा विष्टले १ हजार ८०६ मत प्राप्त गरेका छन्।

त्यसैगरी मनाङमा कांग्रेसका टेकबहादुर गुरुङ २ हजार ४१५ मतसहित विजयी भएका छन्। उनकी निकटतम प्रतिस्पर्धी नेकपाकी यशोदा गुरुङ सुवेदीले ४५४ मत प्राप्त गरेकी छन्।

प्रकाशित मिति : २०८२ फागुन २२ गते शुक्रबार

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन।