
एआईको सहयोगमा निर्मित तस्विर
देशभरका निर्वाचन क्षेत्रमा फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि मंगलबार उम्मेदवारी मनोनयन दर्ता भएको छ। बुधबार दिउँसो ३ बजेसम्म मनोनयन दर्ता गराएका उम्मेदवारविरुद्ध दाबी-विरोध गर्ने समय तोकिएको थियो।
निर्वाचन आयोगका अनुसार भक्तपुर–२ मा दुई जना, सुनसरी-२ मा एक जना, रौतहट–१ मा एक जना र कैलाली–१ मा एक जना उम्मेदवारविरुद्ध उजुरी परेको छ। दाबी-विरोधको अवधिमा कुनै व्यक्ति कानुनअनुसार निर्वाचनमा भाग लिन अयोग्य रहेको भन्दै उजुरी दिन सकिने व्यवस्था छ।
उजुरी परेमा सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयले छानबिन गरी आवश्यक ठहरे उम्मेदवारी खारेजसमेत गर्न सक्ने कानुनी प्रावधान छ।
दाबी-विरोधको प्रक्रिया जारी रहँदा आयोगले निर्वाचनपछिको सबैभन्दा संवेदनशील चरण मानिने ‘मतगणना’लाई व्यवस्थित बनाउन नयाँ निर्देशिका लागू गरेको छ। निर्वाचन आयोग ले प्रतिनिधिसभा सदस्य निर्वाचन (मतगणना) निर्देशिका, २०८२ जारी गर्दै मतगणनालाई थप पारदर्शी, सुरक्षित र विश्वसनीय बनाउने उद्देश्य लिएको जनाएको छ।
किन ल्याइयो नयाँ निर्देशिका?
मतदान प्रक्रिया अपेक्षाकृत सहज भए पनि विगतका निर्वाचनमा मतगणनाका क्रममा विवाद, अविश्वास र तनाव देखिँदै आएको थियो। २०७४ सालको स्थानीय तह निर्वाचनमा भरतपुर महानगरपालिका मा मतगणनाका क्रममा मतपत्र च्यातिएको घटनाले ठूलो विवाद निम्त्याएको थियो। यस्ता घटनाबाट पाठ सिक्दै आयोगले प्रक्रिया स्पष्ट, सुरक्षित र जवाफदेही बनाउने उद्देश्यसहित नयाँ निर्देशिका ल्याएको जनाएको छ।
मतगणनास्थलको व्यवस्था र सुरक्षा
निर्देशिकाअनुसार मतदानअघि नै निर्वाचन अधिकृतले मतगणनास्थल तोक्नुपर्नेछ। सकेसम्म सरकारी भवन वा सार्वजनिक स्थल रोज्नुपर्ने र त्यहाँ पर्याप्त प्रकाश, सुरक्षा, सञ्चार सुविधा तथा उम्मेदवारका प्रतिनिधि बस्न मिल्ने व्यवस्था अनिवार्य गरिएको छ।
मतगणनास्थल वरिपरि कडा सुरक्षा घेरा रहनेछ। सुरक्षाकर्मीबाहेक कसैले पनि कुनै प्रकारका हतियार लैजान पाउने छैनन्। मतगणनास्थलभित्र मोबाइल फोन र क्यामेरा लैजान पूर्ण प्रतिबन्ध लगाइएको छ।
को-को सहभागी हुन पाउँछन्?
मतगणनामा निर्वाचन अधिकृत, गणनामा खटिएका कर्मचारी, उम्मेदवार वा दलका आधिकारिक प्रतिनिधि, सुरक्षाकर्मी, आयोगका प्रतिनिधि तथा स्वीकृत पर्यवेक्षक मात्र सहभागी हुन पाउनेछन्। मादक पदार्थ सेवन गरेका वा परिचयपत्र नभएका व्यक्तिलाई प्रवेश दिइने छैन।
निर्देशिकाले राजनीतिक दलसँग आबद्ध ट्रेड युनियनका पदाधिकारी वा सदस्यलाई मतगणनामा खटाउन निषेध गरेको छ। कर्मचारीको निष्पक्षता कायम राख्न गणनामा खटिने कर्मचारीलाई अनिवार्य अभिमुखीकरण तालिम दिने व्यवस्था गरिएको छ।
मतपेटिका र गणना प्रक्रिया
मतदानपछि मतपेटिका मतगणनास्थलमा ल्याई सुरक्षित कोठामा राखिनेछ। कोठाको ढोका र झ्यालमा निर्वाचन अधिकृतको लाहाछाप लगाइनेछ भने उम्मेदवार वा उनका प्रतिनिधिले चाहेको खण्डमा आफ्नै लाहाछाप लगाउन पाउनेछन्। कोठामा सीसीटीभी जडान अनिवार्य गरिएको छ।
सबै मतदान केन्द्रबाट मतपेटिका संकलन नभएसम्म मतगणना सुरु गरिने छैन। कुनै केन्द्रमा पुनः मतदान भएको अवस्थामा त्यस केन्द्रको मतपेटिका नआएसम्म अन्य केन्द्रको मतगणना पनि रोकिने व्यवस्था छ।
मतदाताको गोपनीयता जोगाउन कम्तीमा दुई वा सोभन्दा बढी मतदान केन्द्रका मतपत्र मिसाएर मात्र गणना गरिनेछ, जसले कुनै विशेष क्षेत्र वा समुदायले कसलाई मतदान गर्यो भन्ने अनुमान गर्न नदिने उद्देश्य राखेको छ।
मत बदर र पुनः गणना
दुई वा दुईभन्दा बढी उम्मेदवारलाई छाप लगाइएको, चिन्ह नबुझिने, च्यातिएको, जाली मतपत्र, मतपेटिकाबाहिर भेटिएको वा आयोगले तोकेको चिन्हबाहेक अन्य चिन्ह प्रयोग गरिएको मतपत्र बदर हुनेछन्।
यदि दुई वा दुईभन्दा बढी उम्मेदवारको सदर मत बराबर भएमा गोलाप्रथामार्फत विजेता चयन गरिनेछ। गोलाबाट छानिएको उम्मेदवारले एक मत बढी पाएको सरह मानिने व्यवस्था छ।
मतगणना चलिरहेको अवस्थामा आधारसहित पुनः गणनाको माग गर्न सकिनेछ। तर, गणना सम्पन्न भई मुचुल्का भइसकेपछि पुनः गणनाको माग गर्न पाइने छैन।
नतिजा सार्वजनिक गर्ने तरिका
मतगणनाको परिणाम एकीकृत निर्वाचन सूचना व्यवस्थापन प्रणाली (आईईआईएमएस) मा प्रविष्ट गरी आयोगको केन्द्रीय सर्भरमा पठाइनेछ। साथै, मतगणनास्थल बाहिर डिस्प्ले बोर्ड, माइक वा लाउडस्पिकरमार्फत सर्वसाधारणलाई नतिजाको जानकारी दिइने व्यवस्था गरिएको छ।









