२०८३ साउन ११ , सोमबार

झण्डै छ वर्षपछि पूरा भयो कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण आयोजना



झण्डै छ वर्षअघि सुरु भएको कोहलपुर-सुर्खेत १३२ केभी विद्युत् प्रसारण आयोजना अन्ततः सम्पन्न भएको छ । शनिबार बाँकेको कोहलपुर सबस्टेसनबाट सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-११ स्थित सुब्बाकुना सबस्टेसनसम्म उच्च भोल्टेजको विद्युत् प्रवाह सफल भएसँगै आयोजनाले पूर्णता पाएको हो ।

विधुत प्रसारण भएकाे सुर्खेत सुब्बाकुना सबस्टेशन

कोहलपुर सबस्टेसनदेखि सुर्खेत सबस्टेसनसम्म १३२ केभी डबल सर्किट प्रसारण लाइनमार्फत १३२ किलोभोल्ट क्षमताको विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा समाहित भएसँगै पूर्णता पाएको आयोजनाले जनाएको छ ।

अब यसलाई ३३ केभी प्रणालीमा जोड्ने प्रक्रिया सुरु गरिनेछ । दुई वर्षभित्र कर्णाली प्रदेशमा स्थायी रूपमा विद्युत् आपूर्ति गर्ने लक्ष्यका साथ २२ असार २०७६ मा अघि बढाइएको आयोजना सम्झौताअनुसार २३ असार २०७८ मै सम्पन्न हुनुपर्ने थियो । तर बाँके तथा बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा जग्गा भोगाधिकार, रुख कटान, स्थानीयको अवरोध र कानुनी प्रक्रियाका कारण आयोजना झण्डै चार वर्ष ढिलाइ भएको हो ।

कठिन भूगोल रहेको सुर्खेतको हर्रे खण्डमा तार तान्ने काम पूरा भएपछि शनिबार सुब्बाकुना सबस्टेसनमा उच्च भोल्टेजसहितको विद्युत् छोडिएको आयोजना प्रमुख रविकुमार चौधरीले बताए । विद्युत् प्रवाह अघि सम्पूर्ण प्रसारण लाइनमा प्राविधिक परीक्षण गरिएको उनले भने ।

कोहलपुरदेखि सुब्बाकुनासम्म ५२ किलोमिटर दूरीमा पोल तथा तारमा रुखका हाँगा-बिँगा छोए नछोएको यकिन गरेपछि मात्रै विद्युत् प्रवाह गरिएको हो । यसअघि राष्ट्रिय निकुञ्ज क्षेत्र भएकाले थप रुख कटान गर्नुपर्ने र काटिएका रुख आयोजनाले नै जिम्मा लिनुपर्ने नियमका कारण ड्रोनमार्फत तार तान्ने निर्णय गरिएको थियो ।

निमार्णधीन बेलाकाे १३२ केभी प्रसारणा लाइनकाे सुब्बाकुना सबस्टेशन

बाक्लो हुस्सु र अप्ठ्यारो भूगोलका कारण काममा कठिनाइ भए पनि अन्ततः आयोजना सफलतापूर्वक सम्पन्न भएको चौधरीले बताए । नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानीमा भारतीय निर्माण कम्पनी आरएस इन्फ्रा प्रोजेक्टले यस आयोजनाको टावर निर्माण र तार तान्ने काम गरेको हो ।

कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन विस्तारका क्रममा करिब १३ हजार रुख कटान गरिएको छ । स्थानीय अवरोध र निकुञ्जभित्र रुख कटान प्रक्रियामा ढिलाइ हुँदा आयोजना लामो समयसम्म अल्झिएको थियो ।

प्रसारण लाइन विस्तारका लागि कोहलपुरदेखि वीरेन्द्रनगरसम्म कुल १६२ वटा टावर निर्माण गरिएको छ । तीमध्ये सुब्बाकुनाको एउटा टावर ५० मिटर अग्लो छ भने अन्य अधिकांश टावर करिब ३० मिटर उचाइका छन् ।

गत वैशाखमा बानियाँभार क्षेत्रको राष्ट्रिय वनमा स्थानीयले अवरोध गरेपछि प्रशासनले सुरक्षाकर्मी परिचालन गरेर रुख कटान गरेको थियो । सर्वोच्च अदालतले समेत प्रसारण लाइन विस्तार रोक्न नमिल्ने आदेश दिएपछि अवरोध हटेको थियो ।

प्रभावित स्थानीयलाई झण्डै १६ करोड रुपैयाँ क्षतिपूर्ति प्रदान गरिएको आयोजनाले जनाएको छ । झण्डै चार दशक पुरानो ३३ केभी प्रसारण लाइन विस्थापित गरी उच्च गुणस्तरको विद्युत् कर्णाली प्रदेशमा आपूर्ति गर्ने उद्देश्यका साथ यो आयोजना अघि बढाइएको हो ।

२०४५ सालमा कोहलपुरदेखि वीरेन्द्रनगरसम्म विस्तार गरिएको ३३ केभी लाइन जंगलको बीचबाट सिटी पोलमार्फत गएको हुँदा वर्षा र हावाहुरीका बेला बारम्बार अवरुद्ध हुने तथा सुक्खा मौसममा भोल्टेज कम हुने समस्या थियो ।

१३२ केभी एंगल टावरसहितको नयाँ प्रसारण लाइन सञ्चालनमा आएपछि सुर्खेतसहित कर्णालीका विभिन्न जिल्लामा विद्युत् आपूर्तिमा सुधार आउने अपेक्षा गरिएको छ । यही प्रसारण लाइनमार्फत कर्णालीका माथिल्ला क्षेत्रमा निर्माण हुने जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय ग्रिडमा जोड्ने लक्ष्यसमेत राखिएको छ ।

हाल सुर्खेतदेखि दैलेखको चुप्रासम्म प्रसारण लाइन विस्तारको काम भइरहेको छ । चुप्रामा सबस्टेसन निर्माण र बीचका क्षेत्रमा टावर निर्माणको काम तीव्र गतिमा अघि बढिरहेको आयोजनाले जनाएको छ । कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण आयोजना पूरा भएसँगै कर्णालीवासीको लामो प्रतीक्षा अन्त्य भएको छ ।

प्रकाशित मिति : २०८२ माघ १८ गते आइतबार

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन।