२०८३ भदौ २८ , आइतबार

डिजिटल युगमा पत्रकारिता र मिथ्या सूचनासम्बन्धी तीन पुस्तक सार्वजनिक



डिजिटल युगमा पत्रकारिता, मिथ्या सूचना र तथ्यजाँचसँग सम्बन्धित तीनवटा पुस्तक सार्वजनिक गरिएको छ।

सेन्टर फर मिडिया रिसर्च नेपाल र जर्नलिजम एकेडेमीले शुक्रबार आयोजना गरेको कार्यक्रममा ती पुस्तकको विमोचन गरिएको हो।

विमोचित पुस्तकमध्ये ‘डिजिटल युगमा पत्रकारिता’ जर्मनीका पत्रकार स्टेफान मोल र तन्जिभ शुल्जद्वारा लिखित हो। जर्मन भाषामा लेखिएको यस पुस्तकलाई लक्ष्मण श्रेष्ठ, तिलक पाठक र उज्ज्वल आचार्यले नेपाली भाषामा अनुवाद तथा सम्पादन गरेका हुन्।

पुस्तकमा डिजिटलाइजेसनको युगमा मिडिया र पत्रकारिता, पत्रकारिताका शैली, सम्पादकीय व्यवस्थापन, सम्पादकीय जिम्मेवारी तथा पत्रकारिताको गुणस्तरलगायत विषयमा बहुआयामिक रूपमा चर्चा गरिएको छ।

यस्तै, उज्ज्वल आचार्य र उमेश श्रेष्ठद्वारा लिखित ‘मिथ्या सूचना र तथ्यजाँच’ पुस्तकमा मिथ्या सूचनाको स्वरूप, त्यसको प्रतिकार, तथ्यजाँच प्रक्रिया तथा मिडिया साक्षरतासम्बन्धी विषय समेटिएको छ।

तेस्रो पुस्तक ‘डिजिटल परिदृश्य’ पत्रकार तथा त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक ऋषिकेश दाहालले लेखेका हुन्।

यस पुस्तकमा प्रतिमान परिवर्तनमा पत्रकारिता, अनलाइन समाचारको मूल्य, डिजिटल मिडिया र पत्रकारिता, युट्युबमा सम्पादकहरूको यात्रा तथा समाचारमा प्रतिलिपि अधिकारका विषय केलाइएको छ।

कार्यक्रममा नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले पत्रकारिता र सामाजिक सञ्जालमा मिथ्या सूचनाको प्रभाव बढ्दै गएको उल्लेख गर्दै निर्वाचनका बेला हुन सक्ने मिथ्या सूचनाप्रति सजग रहन आवश्यक रहेको बताएकी  छन्।

वरिष्ठ पत्रकार प्रतीक प्रधानले प्रविधि, सामाजिक सञ्जाल र नागरिक पत्रकारिताका कारण पत्रकारितामा चुनौती थपिएको उल्लेख गर्दै पत्रकारिताले विश्वास निर्माण गर्नुपर्ने धारणा व्यक्त गरेका थिए ।

‘डिजिटल युगमा पत्रकारिता’का लेखक स्टेफान मोलले विज्ञापन इन्टरनेटमा आधारित मिडियातर्फ केन्द्रित हुँदै गएको र पत्रकारहरूले मिथ्या सूचनाविरुद्ध लड्नुपर्ने भएकाले पत्रकारितामा चुनौती थपिएको बताए ।

सेन्टर फर मिडिया रिसर्च नेपालका अध्यक्ष नविन खतिवडाले निर्वाचनका बेला मिथ्या सूचनालाई न्यूनीकरण गर्दै सत्यलाई स्थापित गर्न सबै पक्ष सचेत हुनुपर्नेमा जोड दिएका थिए ।

प्रकाशित मिति : २०८२ माघ ९ गते शुक्रबार

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन।