२०८३ साउन ११ , सोमबार

विद्यार्थी फेल होईन, व्यवस्थापन फेल भएको नतिजा रामदेव मावि



हुम्लाको सिमकोट गाउँपालिका–२, ठेहेमा रहेको रामदेव माध्यमिक विद्यालयको कक्षा ८ को हालै सार्वजनिक नतिजा कुनै साधारण शैक्षिक तथ्याङ्क मात्र होइन। यो नतिजा राज्य, स्थानीय सरकार र समग्र शिक्षा प्रणालीका लागि एउटा कठोर ऐना हो, जसमा वर्षौँदेखि उपेक्षित ग्रामीण शिक्षाको वास्तविक अनुहार स्पष्ट देखिन्छ।

२३ जना विद्यार्थीमध्ये अधिकांश विभिन्न विषयमा NG (Not Graded) हुनु विद्यार्थीको व्यक्तिगत असफलताका रूपमा हेर्नु ठूलो भूल हुनेछ। यो अवस्था नीतिगत उदासीनता, कमजोर व्यवस्थापन र उत्तरदायित्वहीन शासन प्रणालीको प्रत्यक्ष परिणाम हो। आधारभूत विषयमै विद्यार्थीले न्यूनतम दक्षता हासिल गर्न नसक्नु विद्यालयमा सिकाइभन्दा बढी ‘उपस्थिति पूरा गर्ने संस्कार’ हाबी भएको संकेत हो।

संघीयता कार्यान्वयनसँगै शिक्षा स्थानीय तहको अधिकार क्षेत्रभित्र आएको वर्षौँ भइसकेको छ। तर यो नतिजाले गम्भीर प्रश्न उठाउँछ—के स्थानीय सरकारले यो अधिकार जिम्मेवारीका साथ प्रयोग गर्‍यो? शिक्षक दरबन्दी व्यवस्थापन, विषयगत शिक्षकको उपलब्धता, नियमित अनुगमन तथा विद्यार्थी–केन्द्रित शिक्षण पद्धति प्रभावकारी भएको भए यति ठूलो सङ्ख्यामा विद्यार्थी NG हुनु पर्ने थिएन।

अङ्ग्रेजी, गणित र विज्ञानजस्ता आधारभूत विषयमा देखिएको व्यापक असफलताले ग्रामीण विद्यालयहरूमा पूर्वाधार कागजमै सीमित रहेको यथार्थ उजागर गरेको छ। प्रयोगशाला, दक्ष र योग्य शिक्षक, तालिमप्राप्त जनशक्ति तथा अभ्यास–आधारित सिकाइ बिना गुणस्तरीय शिक्षा सम्भव हुँदैन। राजनीतिक भागबन्डाका आधारमा शिक्षक नियुक्ति गर्ने, स्पष्ट योजना र उद्देश्यबिना बजेट छुट्याउने र प्रतिवेदनमै सीमित हुने संस्कारले शिक्षाको स्तर उकास्न सक्दैन भन्ने कुरा यो नतिजाले पुनः प्रमाणित गरेको छ।

केही विद्यार्थीले सन्तोषजनक उत्कृष्ट अङ्क औसत (GPA) हासिल गरेका छन्। यसले एउटा महत्वपूर्ण सन्देश दिन्छ । सम्भावना विद्यार्थीमा छ, समस्या प्रणाली र व्यवस्थापनमा। गुणस्तरीय शिक्षा, प्रभावकारी निगरानी तथा समान शैक्षिक अवसर सुनिश्चित नगरी सबै विद्यार्थीबाट समान नतिजाको अपेक्षा गर्नु अन्याय मात्र होइन, नीति–विरोधी सोच पनि हो।

 सिमकोट गाउँपालिका कक्षा ८ को नतिजा सार्वजनिक, सागर शाही प्रथम

यदि अब पनि दोष विद्यार्थी, अभिभावक वा भूगोललाई थोपर्ने प्रवृत्ति कायम रह्यो भने शिक्षा सुधार नारामै सीमित हुनेछ। आवश्यक छ—जवाफदेही स्थानीय सरकार, परिणाममुखी विद्यालय प्रशासन र व्यवहारिक तथा तत्काल हस्तक्षेप। नत्र हरेक वर्ष यस्तै नतिजा सार्वजनिक हुनेछन् र हामी फेरि उही प्रश्न दोहोर्‍याइरहनेछौँ-दोष कसको?

रामदेव माध्यमिक विद्यालयको नतिजा एउटा चेतावनी हो। यदि यस चेतावनीलाई पनि बेवास्ता गरियो भने ग्रामीण शिक्षा सुधारको सपना अझ टाढिँदै जानेछ। विद्यालय त रहनेछन्, तर विद्यार्थी हराउने अवस्था आउन धेरै समय कुर्नु पर्ने छैन।

प्रकाशित मिति : २०८२ पुस १८ गते शुक्रबार

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन।