कर्णाली लर्निङ कोलाबोरेटिभ (LC) का सिकाइ साझेदार सदस्यहरूलाई लक्षित गर्दै एआई तथा डिजिटल उपकरण प्रयोगसम्बन्धी एकदिने व्यावहारिक प्रशिक्षण सोमबार बिरेन्द्रनगर, सुर्खेतमा सम्पन्न गरिएको छ। सो प्रशिक्षण जवाफदेही शिक्षाको लागि नागरिक समाज सशक्तीकरण (CSE) परियोजनाअन्तर्गत आयोजना गरिएको हो।

कारखाना समूहकी सरस्वती पौडेलले सहजीकरण गरेको सत्रमा सहभागीहरूले वकालतका कार्यमा एआई प्रविधि कसरी उपयोगी बन्न सक्छ भन्नेबारे विस्तृत जानकारी लिए। कारखाना समूहका प्रशिक्षक मोहित महर्जनले ChatGPT, Google Gemini लगायतका उपकरण प्रयोग गरी पत्र लेखन, नीति संक्षेप तयारी, कागजात विश्लेषण तथा एआईले उत्पादन गरेका त्रुटिपूर्ण सामग्री पहिचान गर्ने सीपहरू सहभागीहरूले प्रत्यक्ष अभ्यासमार्फत सिकेका हुन् ।
डिजिटल सहयोगका उपकरणमध्ये Google Workspace को प्रयोगलाई पनि विशेष प्राथमिकताका साथ समेटिएको थियो । सहभागीहरूलाई एउटै कागजातमा सामूहिक रूपमा काम गर्ने, उपस्थिति सूची व्यवस्थापन, प्रस्तुतीकरण तयार गर्ने तथा बैठक तालिका बनाउन आवश्यक सीपहरू प्रदान गरिएको प्रशिक्षक महर्जनले बताए । सुरक्षित र असुरक्षित एआई प्रयोगका व्यावहारिक उदाहरण प्रस्तुत गर्दै स्थानीय वकालतमा जिम्मेवार प्रविधि प्रयोगको आवश्यकता पनि प्रशिक्षणमा जोड दिइएको थियो ।

त्यसैगरी, CSEJ Learning Toolkit प्रयोगमार्फत नोट तथा प्रमाण अपलोड गर्ने, क्षेत्रमै देखिएका अवलोकन र तथ्य अभिलेख गर्ने तथा छलफलमा सहभागी हुने सीपसम्बन्धी जानकारी पनि दिइयो। ‘नोटसन टुलकिटले आफ्ना गतिविधि अझ व्यवस्थित रूपमा अभिलेख गर्न सहयोग गर्छ, यो नयाँ र उपयोगी सिकाइ भयो,’ सहभागी सुनिता बादीले भनिन् ।
व्यावहारिक अभ्यासमै आधारित दिनभरको सत्रले सहभागीहरूको एआई तथा डिजिटल उपकरण प्रयोग गर्ने आत्मविश्वास बढाएको अनुभव सहभागिहरुले साझा गरेका थिए । आगामी दिनमा स्थानीय शिक्षा वकालतलाई अझ सबल, प्रमाण–आधारित र प्रभावकारी बनाउन महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गरेका छन् ।









