नेपाल टेलिकमले आइतबार ‘फाइबर विद्यार्थी अफर’ सार्वजनिक गरेको छ। यो सुविधा २०५४ सालपछि जन्मिएका विद्यार्थीहरूले मात्र पाउने भएका छन्।

कम्पनीले वार्षिक रु ४,९९९ मा यो अफर ल्याएको हो। उक्त प्याकेजमा ३० एमबीपीएस गतिमा इन्टरनेट प्रयोग गर्न सकिने टेलिकमले जनाएको छ। दैनिक एफयूपी (Fair Usage Policy) सीमा २५ जीबी निर्धारण गरिएको छ। सीमा पार गरेपछि पनि प्रयोगकर्ताले ५ एमबीपीएस गतिमा इन्टरनेट चलाउन सक्ने कम्पनीको भनाइ छ।
टेलिकमका प्रवक्ता रवीन्द्र मानन्धरका अनुसार यो अफर हाल अध्ययनरत, २०५४ सालपछि जन्मिएका विद्यार्थीहरूलाई लक्षित गरी ल्याइएको हो। सेवाका लागि आवेदन दिने विद्यार्थीले शैक्षिक संस्थाबाट जारी गरिएको परिचयपत्र, जन्ममिति खुल्ने सरकारी कागजात, र नाबालकका हकमा अभिभावकको नागरिकता प्रमाणपत्र पेस गर्नुपर्नेछ।
कम्पनीले जनाएको अनुसार, अफरको समयावधि (validity) समाप्त भएपछि पुनः यही प्याकेजमा नवीकरण गर्न सकिँदैन। सेवा निरन्तरता चाहने प्रयोगकर्ताले टेलिकमका अन्य नियमित प्याकेजहरूमध्ये आफ्नो आवश्यकता अनुसार छनोट गर्न सक्नेछन्। त्यस्तै, नवीकरण नगर्ने प्रयोगकर्ताले सेवा सुरु गर्दा उपलब्ध गराइएको सीपीई (Customer-Premises Equipment) फिर्ता गर्नुपर्ने कम्पनीले स्पष्ट पारेको छ।









