२०८३ भदौ २८ , आइतबार

कर्णालीका हिमाली जिल्लामा अत्यधिक हिमपातपछि ८ प्रहरी चौकी सदरमुकाम सारिँदै



कर्णालीका हिमाली जिल्लाहरूमा अत्यधिक हिमपात र चिसो बढेपछि आठ प्रहरी चौकी सदरमुकाम सार्न थालिएका छन्। प्रदेश प्रहरी प्रमुख डिआइजी माधव श्रेष्ठका अनुसार डोल्पाका ६ तथा हुम्ला र मुगुका एक–एक चौकी अस्थायी रूपमा स्थानान्तरण गरिएको हो।

हिमपातका कारण स्थानीयहरू समेत तल्लो क्षेत्रतर्फ झर्न थालेपछि जिल्ला सुरक्षा समितिको सिफारिस र नेपाल प्रहरी प्रधान कार्यालयको स्वीकृतिमा चौकीहरू सारिएको डिआइजी श्रेष्ठले  बताएका छन् ।

हाल हुम्लाको नाम्खा गाउँपालिकास्थित तिल, हल्जी र जाङका प्रहरी सिमकोट आइपुगेका छन्। यस्तै, उपल्लो डोल्पोका इलाका प्रहरी कार्यालय नाम्दो, तिन्जे, भिजेर, धो, बेश टास्की र राप दुनैमा सारिएको छ। मुगुको इलाका प्रहरी कार्यालय मुगुम पनि सदरमुकाम  सारिएको प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

डिआइजी श्रेष्ठका अनुसार अत्यधिक चिसो र हिमपातका कारण चौकीमा बस्न असुरक्षित भएकाले रासन–पानी व्यवस्थापनमा कठिनाइ हुने हुँदा अस्थायी रूपमा सारिएको हो। हिमपात रोकिएर स्थानीयहरू गाउँ फर्केपछि चौकीहरू पनि पुरानै स्थानमा पुनःस्थापना गरिने बताइएको छ।

प्रकाशित मिति : २०८२ कात्तिक १९ गते बुधबार

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन।