चौकुने गाउँपालिका अध्यक्ष खड्क बिकले असोज १२ गते सुर्खेत कारागारमा रहेका कैदीबन्दीलाई गाउँपालिकाको तर्फबाट खसी उपहार दिए ।

दशैंको अवसरमा अपराधीलाई खसी उपहार दिइएको भन्दै स्थानीयले सामाजिक सञ्जालमा तीव्र आलोचना गरेका थिए।
कारखाना मिडियाले आइतबार ”दसैँमा अनाथ बालबालिकालाई निस्तो भात, अपराधीलाई खसी उपहार” शीर्षकमा समाचार प्रकाशन गरेपछि, आलोचकहरूले पालिकाले कैदीलाई भन्दा अनाथ बालबालिकालाई प्राथमिकता दिनुपर्ने तर्कसमेत गरेका थिए।
जनस्तरमा आलोचना बढेपछि अध्यक्ष बिक असोज १४ गते युट्युबरसहित सिद्धेस्वरी बालगृह पुगे।
त्यहाँ बस्ने १२ जना अनाथ बालबालिकालाई उनले दशैंका लागि एक–एक जोडी नयाँ कपडासहित खसी उपलब्ध गराए।
यसअघि कैदीलाई खसी उपहार दिएपछि विवादमा परेका अध्यक्षले बालबालिकालाई कपडा र खसी वितरण गरेर प्रतिक्रिया शान्त पार्ने प्रयास गरेको देखिएको छ।
यसैबीच सिद्धेस्वरी माध्यमिक विद्यालयका प्रधानाध्यापक रतन थापाले बालबालिकाको पक्षमा देखाइएको चासोका लागि गाउँपालिका अध्यक्ष र पालिकाप्रति धन्यवाद व्यक्त गरेका छन्।









