आफन्त भनेका शिक्षक र सँगै बस्ने साथीहरू, घर भनेको यही विद्यालय हो । दसैँ, तिहार, माघेसंक्रान्ती जस्ता जुनसुकै पर्वमा पनि उनीहरू सधैँ विद्यालयमै हुन्छन् । बिहान १० बजे खुलेर बेलुकी ४ बजे बन्द हुने साधारण विद्यालय मात्र होइन, यो हो चौकुने गाउँपालिका–७ स्थित सिद्धेस्वरी बालगृह ।

यहाँ १६ जना अनाथ बालबालिका दाताको सहयोगमा पढ्दै, बस्दै आएका छन् । २०८२ सालको विजया दशमी आउन अब ४ दिन मात्रै बाँकी छ । सिद्धेस्वरी बालगृहका बालबालिकालाई दसैँको दिन खानका लागि राम्रो खाना र सफा लत्ताकपडा लगाउन पाएका छैनन् । दसैँमा अनाथ बालबालिकाले पेटभरि खान पाएका छैनन् तर चौकुने गाउँपालिकाले भने सुर्खेत कारागारका अपराधीलाई खसीसहितको विशेष उपहार दिएको छ ।
गाउँपालिकाको यस्तो निर्णयले स्थानीयवासी र सामाजिक अभियन्ताबिच सामाजिक सञ्जालमा चर्को आलोचना भएको छ । उनीहरूका अनुसार राज्यको स्रोत साधन र पालिकाको प्राथमिकता पीडित, विपन्न तथा असहाय बालबालिकातर्फ जानुपर्ने हो तर उल्टै अपराधीलाई खसी उपहार दिएर पालिकाले असमान व्यवहार गरेको छ ।
गाउँपालिका अध्यक्ष खड्का विकले आज बिहानै आफ्नो फेसबुकवालमा कारागारमै पुगेर कैदी बन्दीलाई उपहार हस्तान्तरण गर्दै चाडपर्वले दिने सन्देश मिलन, प्रेम र सहअस्तित्व भएको दाबी गर्दै उपहार हस्तान्तरण गरेको फोटो सहित पोस्ट गरेका छन् ।
तर नागरिकहरूले प्रश्न उठाएका छन् । भोक भोकै रहेका अनाथ बालबालिकालाई ‘निस्तो भात’ खुवाउने पालिकाले अपराधीलाई खसी उपहार दिनु सामाजिक न्याय र उत्तरदायित्वसँग मेल खान्छ त ? चौकुने गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत लगायतकाले कारागारमै पुगेर एक कार्यक्रम बिच खसी हस्तान्तरण गरेका थिए ।
यता सिद्धेश्वरी बालगृहमा आश्रित बालबालिकाले अझै पनि टिनको छानामुनि बस्नुपरेको छ । बालगृहका सञ्चालक देवानन्द धमलाका अनुसार वासस्थानको राम्रो व्यवस्था नहुँदा बालबालिकाले कष्टकर जीवन बिताइरहेका छन् ।

उनले दसैँ नजिकिँदै गर्दा बालबालिकाका लागि आवश्यक सामग्री जुटाउने प्रयास भइरहेको बताए । तर, दसैँका लागि खाद्यान्नमा पालिकाले कुनै सहयोग नगरेको भन्दै उनले गुनासो गरे ।
बालगृहका लागि नयाँ भवन निर्माण कार्य ढिलाइ भइरहेकाले बालबालिकाले अहिलेसम्म पनि जस्तापाताको अस्थायी टहरामै बस्न बाध्य भएको धमलाले बताएका छन् ।









