२०८३ असोज १ , बिहीबार

स्ववियुको १२ बुँदे माग : मध्यपश्चिम विश्वविद्यालयमा सुधारको दबाब

१० दिन भित्र सम्पूर्ण मागहरू पूरा नभए आन्दोलनमा जाने चेतावनी


मध्यपश्चिम विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले केन्द्रीय क्याम्पसका विभिन्न सङ्कायमा रहेका समस्याहरू तत्काल समाधान गर्न १२ बुँदे माग सार्वजनिक गरेको छ।

स्ववियुले बिहीबार विज्ञप्ति जारी गर्दै कृषि, कानुन र इन्जिनियरिङ सङ्कायमा विषयगत शिक्षकको अभाव तत्काल पूर्ति गर्न माग गरेको छ। साथै, २५ प्रतिशत छात्रवृत्तिको सुनिश्चितता, समयसापेक्ष पाठ्यक्रम परिमार्जन र सबै सङ्कायमा कम्प्युटर ल्याबको सुविधा उपलब्ध गराउन समेत आग्रह गरेको छ ।

विद्यार्थीहरूको क्षमता अभिवृद्धिका लागि प्रयोगशाला, मुटकोर्ट, अनुसन्धानमूलक कक्षाहरू नियमित सञ्चालन गर्नुपर्ने, आवश्यकताअनुसार अतिथि कक्षा सञ्चालन गर्नुपर्ने र स्नातक तहका कार्यक्रमहरूलाई स्नातकोत्तर तहसम्म विस्तार गर्नुपर्ने माग पनि स्ववियुले गरेको छ।

यस्तै, विश्वविद्यालयमा खेलकुदमैत्री वातावरण सिर्जना गर्ने, पुस्तकालयमा सबै सङ्कायका अपर्याप्त पुस्तकहरूको व्यवस्थापन गर्ने र परीक्षा फारम अनलाइनमार्फत एकद्वार प्रणालीबाट मात्रै भरिने व्यवस्था गर्नुपर्ने स्ववियुको माग छ।

त्यस्तै सम्पूर्ण कक्षाकोठालाई प्रविधिमैत्री बनाउने र सबै सङ्कायमा पठन–पाठनको समय तालिका तथा कक्षा भारमा एकरूपता ल्याउनुपर्ने माग पनि स्ववियुले अघि सारेको छ।

मध्यपश्चिम विश्वविद्यालय स्ववियुका अध्यक्ष विवेक खड्काले मागहरू तत्काल कार्यान्वयन नभए कडा आन्दोलनमा जाने चेतावनीसमेत दिएका छन्  ।

ज्ञापन पत्र पढ्नुहाेस । 

प्रकाशित मिति : २०८२ साउन ८ गते बिहीबार

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन।