२०८३ असोज १ , बिहीबार

सरकारी चिकित्सकलाई कार्यालय समयमा निजी अस्पतालमा काम नगर्न कर्णाली सरकारको निर्देशन



कर्णाली प्रदेश सरकारले सरकारी अस्पतालमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीलाई कार्यालय समयमा निजी अस्पताल वा मेडिकलमा काम नगर्न निर्देशन दिएको छ ।

प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयका अनुसार पछिल्लो समय सरकारी चिकित्सक तथा स्वास्थ्यकर्मीले कार्यालय समयमै निजी स्वास्थ्य संस्थामा काम गर्ने र विज्ञापनसमेत गर्ने गरेको गुनासो बढेपछि यस्तो निर्देशन जारी गरिएको हो ।

मन्त्रालयका सचिव धोलकराज ढकालले कार्यालय समयमा सरकारी सेवामा रहेर निजी स्वास्थ्य संस्थामा काम गर्नु प्रचलित कानुन र पेशागत नैतिकता विपरीत हुने उल्लेख गर्दै त्यस्तो कार्य रोक्न निर्देशन दिएका हुन् ।

उनले भने, ‘मन्त्रालय र मातहतका निकायमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीले कार्यालय समयमा अस्पतालमा सेवा नदिई निजी स्वास्थ्य संस्थामा काम गर्ने र विज्ञापन गर्ने कार्य कानुन विपरीत भएको हुँदा सम्पूर्ण चिकित्सक तथा स्वास्थ्यकर्मीले पदीय मर्यादा, व्यक्तिगत आचरण र पेशागत अनुशासनमा रही जिम्मेवारी निर्वाह गर्नुपर्नेछ ।’

स्वास्थ्य महाशाखा प्रमुख वृशबहादुर शाहीका अनुसार कर्णाली प्रदेशमा कार्यरत चिकित्सकहरूको सेवा सुविधा सम्बन्धी व्यवस्था, २०७६ अनुसार निजामती कर्मचारी वा चिकित्सकले निजी स्वास्थ्य संस्थामा काम नगरेको स्वघोषणा गरेपछि मात्र सुविधा पाउने व्यवस्था छ ।

तर, पछिल्लो समय विभिन्न सरकारी अस्पतालका चिकित्सकले स्वघोषणा नगरी निजी अस्पताल वा क्लिनिकमा काम गर्दै सरकारले दिने सुविधा पनि लिइरहेको गुनासो बढेको उनले बताए ।

मन्त्रालयले अबदेखि कुनै चिकित्सक वा स्वास्थ्यकर्मीले यस्तो गतिविधि गरेको पाइएमा नेपाल स्वास्थ्य सेवा ऐन, २०५३, नेपाल स्वास्थ्य सेवा नियमावली, २०५५ तथा कर्णाली प्रदेश निजामती सेवा ऐन, नियमावली २०८० बमोजिम कारबाही हुने चेतावनी दिएको छ ।

प्रकाशित मिति : २०८२ भदौ ४ गते बुधबार

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन।