२०८३ असोज १० , शनिबार

दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे होटल व्यवसायीसँग मुख्यमन्त्री शाहीको छलफल



कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले प्रदेशको पर्यटन क्षेत्रको विकासका लागि निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्नुपर्ने बताएका छन् ।

होटल व्यवसायी संघ सुर्खेत र होटल व्यवसायी संघ कर्णाली प्रदेशका पदाधिकारीसँगको भेटघाटमा मुख्यमन्त्री शाहीले कर्णालीको आर्थिक विकासलाई पर्यटन क्षेत्रसँग जोडेर अघि बढाउन सकिने बताए । त्यसका लागि होटल व्यवसायीको सक्रियता र निजी क्षेत्रको लगानी आवश्यक रहेको उनको भनाइ थियो।

कर्णालीमा पर्यटक भित्र्याउन तथा प्रस्तावित पर्यटन दशकलाई प्रभावकारी बनाउन सकिने कार्यक्रम र योजनाबारे मुख्यमन्त्री शाहीले होटल व्यवसायीसँग सुझावसमेत मागेका थिए।

यस्तै, सुर्खेतमा आयोजना हुन लागेको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका क्रममा आउने खेलाडी, प्रशिक्षक, कर्मचारी तथा पाहुनाको आवास र होटल व्यवस्थापनबारे समेत छलफल भएको थियो। राष्ट्रिय खेलकुदलाई कर्णालीको पर्यटन प्रवर्द्धनसँग जोड्न सकिने विषयमा पनि छलफल केन्द्रित भएको थियो।

भेटघाटमा होटल व्यवसायी संघ कर्णाली प्रदेशका अध्यक्ष तर्कबहादुर शाहीले पर्यटन दशकको तयारी अघि पर्यटकीय क्षेत्रसम्म पुग्ने सडक तथा यातायातको सहज व्यवस्था गर्नुपर्ने बताए। पर्यटकीय क्षेत्र नजिकै आवश्यक जग्गा उपलब्ध गराउन सके होटल तथा पर्यटन क्षेत्रमा निजी लगानी भित्र्याउन सकिने उनको भनाइ थियो।

होटल व्यवसायी संघ सुर्खेतका अध्यक्ष प्रतिभा वलीले कर्णालीका होटलको वर्गीकरण गर्न सरकारबाट आवश्यक पहल हुनुपर्ने बताउनुभयो। साथै, पर्यटक बोक्ने सवारीसाधनका लागि छुट्टै नम्बर प्लेटको व्यवस्था गर्न पनि उनले सरकारसँग आग्रह गरेका थिए ।

प्रकाशित मिति : २०८३ असोज ९ गते शुक्रबार

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन।