२०८३ असोज १० , शनिबार

बाढी–पहिरोको जोखिम बढ्यो, २५ जिल्ला उच्च जोखिममा



देशका अधिकांश क्षेत्रमा मौसम बदली भई बंगालको खाडीमा विकसित न्यूनचापीय क्षेत्रको प्रभावका कारण लगातार वर्षा भइरहेको छ।

वर्षासँगै विभिन्न स्थानका खोलानालामा जलसतह बढ्नुका साथै पहिरो खसेर सडक अवरुद्ध हुन थालेका छन्।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले वर्षाका कारण हुनसक्ने बाढी तथा पहिरोको जोखिमका आधारमा देशभरका ७७ जिल्लालाई तीन तहमा वर्गीकरण गरेको छ। प्राधिकरणले जोखिमको अवस्था रातो, सुन्तला र पहेँलो रङमा विभाजन गरेको हो।

वर्गीकरणअनुसार २५ जिल्ला रातो रङ अर्थात् उच्च जोखिममा रहेका छन्। ती जिल्लामा बाढी तथा पहिरोको जोखिम उच्च रहेकाले सवारीसाधन आवागमन राति र दिउँसो दुवै समयमा पूर्ण रूपमा बन्द गर्न प्राधिकरणले सुझाव दिएको छ।

त्यस्तै, २९ जिल्ला सुन्तला रङ अर्थात् जोखिमयुक्त क्षेत्रमा राखिएका छन्। ती जिल्लामा रातको समयमा सवारीसाधन आवागमन बन्द गर्ने र दिउँसोको समयमा अवस्था हेरी जिल्ला मनसुन प्रतिकार्य कमाण्ड पोष्टले आवश्यक निर्णय लिनुपर्ने जनाइएको छ।

यसैगरी, २३ जिल्ला पहेँलो रङमा राखिएका छन्। यी जिल्लामा सम्भावित बाढी, पहिरो तथा अन्य मनसुनजन्य विपद्को जोखिमलाई ध्यानमा राख्दै सतर्क रहन आग्रह गरिएको छ।

प्राधिकरणले निरन्तर वर्षाका कारण सडक, नदी तथा खोलानालाको अवस्था जोखिमपूर्ण हुनसक्ने भएकाले आवश्यक सावधानी अपनाउन र सम्बन्धित निकायले जोखिमको अवस्था मूल्याङ्कन गरी आवागमन तथा अन्य गतिविधिबारे निर्णय लिन आग्रह गरेको छ।

प्रकाशित मिति : २०८३ असोज ९ गते शुक्रबार

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन।