२०८३ असोज १० , शनिबार

कालिकोटमा सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गराएको आरोपमा १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा



अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कालिकोटका तत्कालीन कार्यालय प्रमुख नेत्रबहादुर शाहीसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

सरकारी तथा सार्वजनिक प्रकृतिको जग्गा व्यक्तिको नाममा दर्ता गराउन मिलेमतो गरेको आरोपमा अख्तियारले तत्कालीन कार्यालय प्रमुख शाही, कम्प्युटर अपरेटर वीरेन्द्रबहादुर शाही, नायब सुब्बा मुकुन्द बस्नेत र कार्यालय सहयोगी (करार) भक्तबहादुर शाहीविरुद्ध विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको हो।

आयोगका अनुसार तत्कालीन कार्यालय प्रमुख नेत्रबहादुर शाही, कम्प्युटर अपरेटर वीरेन्द्रबहादुर शाही र नायब सुब्बा मुकुन्द बस्नेतविरुद्ध जनही १ करोड ७६ लाख ८६ हजार ८ सय रुपैयाँ बिगो माग गरिएको छ। कार्यालय सहयोगी भक्तबहादुर शाहीविरुद्ध भने ७५ लाख ९२ हजार ४ सय रुपैयाँ बिगो माग गरिएको छ।

यस्तै, तत्कालीन भूमि सम्बन्धी समस्या समाधान आयोग, जिल्ला समितिका अध्यक्ष धिरबहादुर बम, विज्ञ सदस्य रमेश नेपाली र सदस्य राजेन्द्रबहादुर थापाविरुद्ध पनि मुद्दा दायर गरिएको छ। उनीहरूविरुद्ध १ करोड ७६ लाख ८६ हजार ८ सय रुपैयाँ बिगो तथा कानुनबमोजिम सजायको माग गरिएको अख्तियारले जनाएको छ।

आयोगले सरकारी तथा सार्वजनिक प्रकृतिको जग्गा प्राप्त गर्ने व्यक्तिहरूलाई समेत विपक्षी बनाएको छ। कित्ता नम्बर १७७२ को जग्गा प्राप्त गर्ने अंखपुरा शाहीविरुद्ध ४३ लाख ८८ हजार ४ सय रुपैयाँ, कित्ता नम्बर ५७२ को जग्गा प्राप्त गर्ने प्रदिपे दमाईविरुद्ध ५७ लाख ६ हजार रुपैयाँ र कित्ता नम्बर ९२१ को जग्गा प्राप्त गर्ने दिपबहादुर शाहीविरुद्ध ७५ लाख ९२ हजार ४ सय रुपैयाँ बिगो माग गरिएको छ।

त्यस्तै, कित्ता नम्बर ९२१ को जग्गा खरिद गर्ने नरेन्द्रबहादुर थापालाई पनि विपक्षी बनाइएको अख्तियारले जनाएको छ।

प्रकाशित मिति : २०८३ असोज ७ गते बुधबार

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन।