२०८३ असोज १० , शनिबार

डोल्पामा सडक निर्माण ठेक्कामा अनियमितता, अधिकृतसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा



अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत लालप्रसाद पोखरेलसहित आठ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

त्रिपुरासुन्दरी नगरपालिका–६ स्थित हरियापानी–पालुङ्ग–माझफाल हुँदै रुकुम जोड्ने मोटरबाटो निर्माणको ठेक्कामा अनियमितता गरेको आरोपमा आयोगले मुद्दा दायर गरेको हो।

आयोगका अनुसार आर्थिक वर्ष २०७८/७९ मा विद्युतीय प्रणालीमार्फत भएको ठेक्का प्रक्रियामा अनियमितता भएको भन्दै प्राप्त उजुरीमाथि अनुसन्धान गरिएको थियो।

अनुसन्धानका क्रममा एक करोड ८ लाख २६ हजार रुपैयाँ लागत रहेको उक्त सडक आयोजनाको ठेक्कामा अनियमितता भएको पुष्टि भएपछि आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ।

आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार मुद्दा दायर हुनेमा तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत लालप्रसाद पोखरेल, तत्कालीन इन्जिनियर कर्णबहादुर कार्की, प्रशासकीय अधिकृत हिराचन्द्र धराला, वरिष्ठ लेखा सहायक रूपचन्द्र बुढा, शिक्षा अधिकृत भीमबहादुर थापा, अपरेटर हरिचन्द्र बिष्ट, बोलपत्र मूल्याङ्कन समितिका सदस्य शिशिरकुमार गुरुङ र छल निर्माण सेवा प्रालिका प्रोप्राइटर दिपचन्द्र रोकाया रहेका छन्।

आयोगले उनीहरूविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुरमा ७३ लाख ६१ हजार रुपैयाँ बिगो कायम गरेको छ। आयोगले बिगो असुलउपर गरी कैद तथा बिगोबमोजिम जरिवाना हुन मागदाबी गरेको जनाएको छ।

प्रकाशित मिति : २०८३ असोज ६ गते मंगलबार

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन।