त्रिपुरेश्वरमा सोमबार बसमा भएको आगलागीमा परी घाइते भएका चालक दावा लामाको मृत्यु भएको छ।

२५ वर्षीय लामाको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा सोमबार राति नै मृत्यु भएको प्रहरी स्रोतले जनाएको छ। अस्पतालका अनुसार उनको शरीरको करिब ९० प्रतिशत भाग जलेको थियो।
सोमबार मध्याह्न त्रिपुरेश्वरचोकस्थित बस स्टपमा रिद्धिसिद्धि यातायातको बा५ख ४२७४ नम्बरको बसमा आगलागी भएको थियो। आगलागीमा परी गम्भीर घाइते भएका लामालाई दिउँसो करिब १ बजे अस्पताल पुर्याइएको थियो।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार चालक लामाले आफैँ बसमा आगो लगाएको देखिएको छ। घटना हुनुअघि उनको ट्राफिक प्रहरीसँग विवाद भएको बताइएको छ।
घटनाबारे थप अनुसन्धान गर्न समिति गठन भइसकेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति : २०८३ असोज ६ गते मंगलबार








