२०८३ असोज १० , शनिबार

अफगानिस्तानविरुद्ध नेपाल ५ विकेटले विजयी



एसियाली खेलकुदअन्तर्गत क्रिकेटमा नेपालले अफगानिस्तानविरुद्ध ५ विकेटको जित हात पारेको छ। टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले दिएको १०३ रनको लक्ष्य नेपालले १६ बल बाँकी छँदै ५ विकेट गुमाएर पूरा गरेको हो।

नेपालको जितमा सन्दीप जोराले ३४ र रोहित पौडेलले ३३ रनको योगदान गरे। कुशल भुर्तेल शून्य रनमै आउट हुँदा आसिफ शेखले २ रन मात्र बनाए। त्यसपछि क्रिजमा आएका जोराले ३५ बलमा ३४ रन बनाएर रनआउट भए।

कुशल मल्ल पनि ९ रनमा रनआउट भए। रोहितले ३२ बलमा ३३ रन बनाए। दीपेन्द्रसिंह ऐरीले १८ बलमा १५ रन जोडे भने गुल्सन झाले १ बलमा १ रन बनाउँदै नेपाललाई जित दिलाए। अफगानिस्तानले नेपाललाई ९ अतिरिक्त रन दिएको थियो।

अफगानिस्तानका फारिदुन दावुदजाइ, अब्दुल्लाह अहमदजाइ र अरब गुलले समान १ विकेट लिए। यसअघि पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ओभरमा १०२ रन बनाएको थियो। उसका ओपनर मोहम्मद अक्रमले ८ बलमा २ रन तथा हसन आइसाखिलले २ बलमा शून्य रन बनाए। करिम जनतले ९, फैजल खान अहमदजाइले ३०, नजिबुल्लाह जाड्रानले ३० र मोहम्मद इशकले ७ रन बनाए।

नटआउट नानगेयलिया खानले १७ तथा अब्दुल्लाह अहमदजाइले १ रन जोडे। नेपालले ६ अतिरिक्त रन दिएको थियो। नेपालका लागि ललित राजवंशीले ४ विकेट लिए भने कुशल भुर्तेलले ३ विकेट हात पारे। कसिलो बलिङ गरेका ललितले १३ रन मात्र खर्चिँदा भुर्तेलले २१ रन दिए।

नेपालले अब एसियाली खेलकुदअन्तर्गत आफ्नो अर्को खेलमा भोलि जापानसँग प्रतिस्पर्धा गर्नेछ।

प्रकाशित मिति : २०८३ असोज ९ गते शुक्रबार

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन।