सुर्खेतको चौकुने गाउँपालिका–५ रेक्चामा श्रीमान्ले फरुवा प्रहार गर्दा श्रीमतीको मृत्यु भएको छ।

मंगलबार बिहान करिब १०ः२० बजे ३२ वर्षीय गोपीराम जैसीले आफ्नै घरमा ३० वर्षीया श्रीमती चन्द्रा देवकोटा जैसीको टाउकोमा फरुवा प्रहार गरेका थिए। गम्भीर घाइते भएकी चन्द्राको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनाको जानकारी पाएलगत्तै प्रहरी चौकीबाट प्रहरी सहायक निरीक्षक बुद्धि साउँदको कमाण्डमा चार जनाको टोली घटनास्थल पुगेको थियो। थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बाबियाचौरबाट प्रहरी निरीक्षक भूपेन्द्र शाहीको कमाण्डमा सात जनाको टोलीसमेत घटनास्थलमा खटिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक कविन्द्र सिंह बोहराले जानकारी दिए।
फरुवा प्रहार गर्ने गोपीरामलाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन्। उनलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।








