
सुर्खेतको बराहताल गाउँपालिकामा महिनावारी स्वच्छता र न्याय सुनिश्चित गर्ने उद्देश्यसहित ‘मेज़ारा’ परियोजनाको किक–अफ कार्यक्रम सम्पन्न भएको छ। सुशासन प्रवर्धनका लागि युवा (YGGP) संस्थाद्वारा सञ्चालित यो परियोजना बराहताल गाउँपालिका र पञ्चपुरी नगरपालिकामा कार्यान्वयनमा ल्याइएको हो।
बराहताल गाउँपालिका–५ बड्डिचौरमा आयोजित कार्यक्रममा सुशासन प्रवर्धनका लागि युवा संस्थाका कार्यकारी निर्देशक घनश्याम केसी, कार्यक्रम व्यवस्थापक खगेन्द्र सिजापति, कार्यक्रम संयोजक एलिना भारती, मेज़ारा’ परियोजनाको टिम र पालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेम बहादुर डी.सी., सम्बन्धित वडाका अध्यक्षहरू, विभिन्न शाखाका प्रमुखहरू लगायत सरोकारवाला निकायहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत डी.सी.ले उक्त परियोजना पालिकाका लागि निकै सान्दर्भिक भएको बताए। “यस परियोजनाले किशोरीहरूलाई महिनावारीको समयमा हुने पीडाको व्यवस्थापन गर्न सहयोग पुग्नेछ,” उनले भने, “नियमित विद्यालय जान र दैनिक गतिविधिमा सक्रिय हुन उनीहरू सक्षम हुनेछन्।” यदि गाउँपालिकाका सबै वडामा सबै किशोरीको सहभागिता सुनिश्चित गर्न सकियो भने यसको प्रभाव अझ सशक्त र दिगो हुने बताए ।

किशोरी लक्षित यस परियोजनाले महिनावारीका बेला हुने शारीरिक तथा मानसिक असरका विषयमा जानकारी दिने तथा उनीहरूलाई आत्मनिर्भर बनाउने लक्ष्य लिएको छ। किशोरीहरूको स्वच्छता, आत्मविश्वास र विद्यालय उपस्थितिमा सुधार ल्याउने उद्देश्यसहित परियोजना अघि बढाइएको निर्देशक केसीले बताएका छन् ।











प्रतिक्रिया दिनुहोस्