२०८३ भदौ ३० , मंगलबार

बिनाकारण पेट्रोलपम्प बन्द गरे १० लाखसम्म जरिबाना हुने



अब उचित कारणबिना पेट्रोलपम्प बन्द गरी इन्धन अभावको अवस्था सिर्जना गर्ने व्यवसायीलाई तीन लाखदेखि १० लाख रुपैयाँसम्म जरिबाना हुने भएको छ। नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थ बिक्रेता विनियमावली संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो।

नयाँ व्यवस्थाअनुसार पहिलो पटक नोजल ‘ड्राई’ गरी पेट्रोलियम पदार्थ नपाइने अवस्था सिर्जना गर्ने बिक्रेतालाई तीन लाख रुपैयाँ जरिबाना गरिनेछ। साथै, निगमको डिपोबाट पाँच दिनसम्म इन्धन आपूर्ति रोक्का गरिनेछ।

दोस्रो पटक यस्तो कसुर दोहोरिएमा छ लाख रुपैयाँ जरिबाना र १० दिनसम्म इन्धन आपूर्ति बन्द गरिने व्यवस्था गरिएको छ। तेस्रो पटक पनि नियम उल्लंघन भएमा १० लाख रुपैयाँ जरिबाना तथा १५ दिनसम्म निगमको डिपोबाट इन्धन आपूर्ति रोक्का गरिनेछ।

पेट्रोलियम व्यवसायीले मूल्य घट्ने अनुमान गर्दै मंगलबार नेपाल आयल निगमको डिपोबाट इन्धन नउठाउँदा बुधबार देशभर इन्धन आपूर्ति असहज बनेको थियो। पेट्रोलपम्पमा पेट्रोल तथा डिजेल नपाइने अवस्था सिर्जना भएपछि सर्वसाधारण प्रभावित भएका थिए।

अत्यावश्यक पेट्रोलियम पदार्थको आपूर्ति असहज बनाउने व्यवसायीमाथि कारबाही गर्न स्पष्ट कानुनी आधार नभएपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादव ले बुधबार साँझ तत्काल नयाँ कानुनी व्यवस्था गर्न निर्देशन दिएकी थिइन्।

मन्त्री यादवको निर्देशनलगत्तै निगमको सञ्चालक समिति बैठक बसेर पेट्रोलियम पदार्थ बिक्रेता विनियमावली २०७५ को विनियम २९ घ (१) संशोधन गरिएको हो। संशोधित विनियममा ‘बिक्रेताले नोजल सुख्खा (ड्राई) गरी पेट्रोलियम पदार्थ नपाउने स्थिति सिर्जना गर्न नहुने’ भन्ने प्रावधान थपिएको छ।

मन्त्रीको सचिवालयका अनुसार नयाँ व्यवस्थापछि अब कुनै पनि पेट्रोलपम्पले उचित कारणबिना इन्धन बिक्री बन्द गरेको भेटिएमा कारबाही हुने सुनिश्चित भएको छ।

प्रकाशित मिति : २०८३ असार १९ गते शुक्रबार

1 प्रतिक्रिया

  • Valerie July 4, 2026

    जनतालाई दुख दिनेलाई यो अलि कम जरिवाना भयो

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन।