२०८३ वैशाख ८ , मंगलबार

नेपालमा स्मार्टफोन आयातमा उछाल, ९ महिनामै ३३ अर्बभन्दा बढीको मोबाइल भित्रियो



नेपाली बजारमा पछिल्लो समय स्मार्टफोनको माग र प्रयोग उल्लेख्य रूपमा बढ्दै गएको छ। भन्सार विभागले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको ९ महिनामा स्मार्टफोन आयात अघिल्लो वर्षको तुलनामा उल्लेखनीय रूपमा वृद्धि भएको छ।

यस अवधिमा गत आर्थिक वर्षको सोही अवधिभन्दा ८९ हजार २ सय ९३ थान बढी स्मार्टफोन नेपाल भित्रिएका छन्। विभागका अनुसार चालु आवको ९ महिनामा ३३ अर्ब ८२ करोड २५ लाख ८५ हजार रुपैयाँ बराबरका १६ लाख ७४ हजार २ सय ४९ थान स्मार्टफोन आयात भएको छ। जबकि, गत आवको सोही अवधिमा २५ अर्ब ३८ करोड ४४ लाख ७७ हजार रुपैयाँ बराबरका १५ लाख ८४ हजार ९ सय ५६ थान मात्रै मोबाइल भित्रिएका थिए।

चालु आवको चैत महिनामा मात्रै ३ अर्ब ८८ करोड ६६ लाख ३९ हजार रुपैयाँ खर्च गरेर १ लाख ४५ हजार ७ सय ५४ थान स्मार्टफोन आयात गरिएको छ।

नेपालमा भित्रिने स्मार्टफोनमध्ये सबैभन्दा ठूलो हिस्सा चीनको रहेको छ। चालु आवमा चीनबाट मात्रै २५ अर्ब ६५ करोड ६२ लाख ७६ हजार रुपैयाँ बराबरका १४ लाख १० हजार ९ सय ३५ थान स्मार्टफोन आयात भएका छन्। गत वर्ष सोही अवधिमा चीनबाट १७ अर्ब २६ करोड रुपैयाँ बराबरका १२ लाख ४७ हजार ५ सय ५८ थान मोबाइल आयात भएका थिए।

चीनपछि नेपालमा सबैभन्दा धेरै मोबाइल भारतबाट आउने गरेका छन्। यस अवधिमा भारतबाट ७ अर्ब ५९ करोड ४८ लाख ५१ हजार रुपैयाँ बराबरका २ लाख ५५ हजार ८ सय २० थान स्मार्टफोन आयात भएका छन्।

स्मार्टफोन आयातमा आएको यो वृद्धिले सरकारको राजस्व संकलनमा पनि सकारात्मक प्रभाव पारेको छ। चालु आवको ९ महिनामा मोबाइल आयातबाट मात्रै सरकारले ६ अर्ब ३० करोड ८७ लाख ६१ हजार रुपैयाँ राजस्व संकलन गरेको छ। अघिल्लो वर्ष सोही अवधिमा भने यस शीर्षकबाट ४ अर्ब ७३ करोड १५ लाख ८७ हजार रुपैयाँ मात्र राजस्व उठेको थियो।

प्रकाशित मिति : २०८३ वैशाख ७ गते सोमबार