आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) हुम्लाका प्रत्यक्ष उम्मेदवार टासी ल्हाजोमले उच्च हिमपातका कारण अवरुद्ध लिमि मार्ग तत्काल खुलाउन माग गरेकी छन्।
नाम्खा गाउँपालिका–६ अन्तर्गत पर्ने लिमि क्षेत्रमा भारी हिमपात भएपछि यातायात पूर्ण रूपमा ठप्प भएको छ। विशेषगरी ५ हजार २ सय मिटर उचाइमा रहेको न्यालुलेक र ४ हजार ९४९ मिटरको नाम्खा–५ को नारालेक हिउँले ठप्प हुदा सदरमुकाम सिमकोटबाट लिमि जाने मुख्य मार्ग बन्द भएको हो।

मताधिकारमै चुनौती
निर्वाचनका लागि लिमिबासी मतदाता जिल्ला बाहिरबाट घर फर्किने क्रम जारी रहे पनि बाटो अवरुद्ध हुँदा गाउँसम्म पुग्न नसक्ने अवस्था देखिएको छ। उम्मेदवार ल्हाजोमले प्राकृतिक विपद्का कारण नागरिकको संवैधानिक मताधिकार प्रभावित हुन नहुने बताएकी छन्।
“यो केवल चुनावी प्रतिस्पर्धा होइन, नागरिक अधिकारको प्रश्न हो,” उनले भनिन्, “राज्यका जिम्मेवार निकायले समयमै पहल गरोस्।”
ल्हाजोमका अनुसार हुम्लाका प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मी, जिल्ला प्रहरी कार्यालयका डिएसपी शंकर खडका र मुख्य निर्वाचन अधिकृत नीलकण्ठ बरालसँग सडकको हिउँ पन्छाएर आवतजावत सहज बनाउन आग्रह गरिएको छ।
उम्मेदवार स्वयंलाई पनि सकस
लिमि हल्जी गाउँकै बासिन्दा ल्हाजोम स्वयं गाउँ पुग्न नसकेको बताइन्छ। उनले आफू मात्र नभई काठमाडौं, ताक्लाकोट, दिल्ली लगायतका सहरमा रहेका मतदातासमेत गाउँ फर्किन कठिनाइ भएको उल्लेख गरिन्।
नाम्खा गाउँपालिका–६ का वडाध्यक्ष पाल्जोर तामाङका अनुसार निर्वाचन जस्तो संवेदनशील समयमा वैकल्पिक व्यवस्थापन नहुनु गम्भीर लापरबाही हो। स्थानीय प्रशासन र सुरक्षा निकायले स्पष्ट योजना सार्वजनिक नगरेको गुनासो पनि उनले गरे।
गाउँमा ३० प्रतिशत मात्र मतदाता
वडाध्यक्ष तामाङका अनुसार लिमि क्षेत्रमा करिब ३० प्रतिशत मतदाता मात्रै गाउँमा छन्। तिल गाउँस्थित हिमशिखर आधारभूत विद्यालयका १३२ मतदातामध्ये करिब १९/२० जना मात्र गाउँमा रहेका छन्।

जाङ गाउँको भृकुटी आधारभूत विद्यालयमा २४७, हल्जीको सुनखानी आधारभूत विद्यालयमा २९३ र तिलको हिमशिखर आधारभूत विद्यालयमा १३२ गरी कुल ६७२ मतदाता रहेको तथ्यांक छ। अधिकांश मतदाता जिल्ला बाहिर रहेकाले मार्ग अवरुद्ध रहे सहभागिता दरमा प्रत्यक्ष असर पर्ने देखिएको छ।
हिमाली जिल्लामा निर्वाचन व्यवस्थापन आफैंमा चुनौतीपूर्ण मानिन्छ। तर निर्वाचन आउन अब १० दिन मात्रै बाँकी रहँदा लिमिका मतदाताको मताधिकार कसरी सुनिश्चित हुन्छ भन्ने विषय अहिले सरोकारवालाको प्रमुख चासो बनेको छ।











प्रतिक्रिया दिनुहोस्