सर्वोच्च अदालतले सवारीसाधनमा अङ्ग्रेजी भाषामा इम्बोस्ड नम्बर प्लेट बनाउने तथा जडान गर्ने कार्य तत्काल रोक्न अन्तरिम आदेश जारी गरेको छ।

न्यायाधीशद्वय कुमार रेग्मी र महेश शर्मा पौडेलको संयुक्त इजलासले आइतबार (२५ माघ) सुनुवाइ गर्दै यस्तो आदेश दिएको हो।
अदालतले भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको अध्यक्षतामा २०८२ साउन २० गते बसेको विषयगत समितिको निर्णय र सोही आधारमा यातायात व्यवस्था विभागले २०८२ भदौ ३ गते जारी गरेको सूचनाअनुसार अङ्ग्रेजी भाषामा इम्बोस्ड नम्बर प्लेट अनिवार्य जडान गर्ने कार्य संविधान र कानुनी व्यवस्थाविपरीत देखिएको उल्लेख गरेको छ। सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९(२)(क) बमोजिम आदेश जारी गरिएको हो।
यसअघि समितिले १ असोजदेखि सवारी दर्ता, नामसारी र नवीकरण गर्दा अनिवार्य रूपमा ‘हाइ सेक्युरिटी इम्बोस्ड नम्बर प्लेट’ जडान गर्ने निर्णय गरेको थियो। सोही निर्णयविरुद्ध अधिवक्ता रामबहादुर राउतसहितले १४ पुसमा रिट दायर गरेका थिए।
रिट निवेदक राउतले संविधानको धारा ७ र ३२ विपरीत अङ्ग्रेजी भाषामा नम्बर प्लेट जडान गर्ने निर्णय भएको दाबी गरेका छन्। उनले इम्बोस्ड नम्बर प्लेट देवनागरी लिपिमा नै लागू गर्न माग गरेका छन्।
यातायात व्यवस्था विभागका सूचना अधिकारी गणेशमान राईका अनुसार हाल इम्बोस्ड नम्बर प्लेटसम्बन्धी काम बन्द रहेको छ। प्लान्ट तयारीपछि अदालतको अन्तिम आदेशअनुसार अघि बढ्ने उनले बताएका छन्।
हेर्नुहोस् सर्वोच्चको अन्तरिम आदेश













प्रतिक्रिया दिनुहोस्