युरोपेली युनियन (ईयू) का नियामकहरूले सामाजिक सञ्जाल टिकटकको डिजाइन प्रयोगकर्तालाई ‘लत’ लगाउने खालको रहेको प्रारम्भिक निष्कर्ष निकालेका छन्। जारी अनुसन्धानको प्रारम्भिक नतिजा सार्वजनिक गर्दै नियामकहरूले टिकटकको स्वरूपले ‘डिजिटल सर्भिस एक्ट’ (डीएसए) उल्लंघन गरेको आरोप लगाएका हुन्।

ईयूले विशेषगरी टिकटकको इन्फिनिट स्क्रोल (लगातार भिडियो आइरहने सुविधा), अटो प्ले, पुस नोटिफिकेसन तथा प्रयोगकर्ताको रुचिअनुसार सामग्री देखाउने ‘रिकमेन्डर सिस्टम’ माथि गम्भीर प्रश्न उठाएको छ। नियामकहरूका अनुसार यी सुविधाबाट प्रयोगकर्ताको शारीरिक र मानसिक स्वास्थ्यमा पर्न सक्ने नकारात्मक असर कम गर्न टिकटकले पर्याप्त सुरक्षा उपायहरू अपनाएको देखिँदैन।
नयाँ–नयाँ सामग्री निरन्तर देखाएर प्रयोगकर्तालाई लामो समयसम्म स्क्रोल गरिरहन उक्साइने र यसले मस्तिष्कलाई ‘अटोपाइलट मोड’ मा लैजाने ईयूको दाबी छ। यस्तो अवस्था मानसिक स्वास्थ्यका दृष्टिले चिन्ताजनक रहेको नियामकहरूको भनाइ छ।
यद्यपि टिकटकले भने युरोपेली युनियनको आरोपलाई अस्वीकार गर्दै दाबीहरू गलत र आधारहीन भएको प्रतिक्रिया दिएको छ। टिकटकले प्रयोगकर्ताको सुरक्षाका लागि आवश्यक उपायहरू अपनाइरहेको पनि जनाएको छ।
अनुसन्धानको पूर्ण निष्कर्ष आउन अझै केही समय लाग्ने बताइएको छ। यदि प्रारम्भिक निष्कर्ष पुष्टि भएमा टिकटकले ठूलो रकमको जरिवाना तिर्नुपर्नेछ भने कानुनी पालना सुनिश्चित गर्न आफ्नो एपको ‘बेसिक डिजाइन’ नै परिवर्तन गर्नुपर्ने सम्भावना छ।











प्रतिक्रिया दिनुहोस्