२०८३ वैशाख ४ , शुक्रबार

रास्वपाको समानुपातिक सूचीबाट हटेकी २६ बर्षिया टासी ल्हाजोम प्रत्यक्षतर्फ उम्मेदवार



राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले  फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि हुम्लाबाट प्रत्यक्षतर्फ टासी ल्हाजोम लामालाई उम्मेदवार बनाएको छ । पार्टी स्राेतका अनुसार लामालाई हुम्लाबाट उम्मेदवार बनाउने निणर्य गरेकाे हाे ।

लामा यसअघि रास्वपाको समानुपातिक बन्दसूचीमा आदिवासी जनजाति कलस्टरको महिलातर्फ पहिलो नम्बरमा थिईन् । तर पार्टीले अन्तमा उनको नाम सूचीबाट नै हटाईएको थियो। विना कारण नाम हटाएको भन्दै रास्वपा हुम्लाका सदस्यहरुले केन्द्रीय पार्टी कार्यालयमा धर्ना समेत दिए। निरन्तरको छलफल पछि अन्तत लामालाई प्रत्यक्षको टिकट दिएको खुलेको छ।

यद्यपि रास्वपा हुम्लाबाट प्रतिनिधि सभा सदस्यका लागि महेन्द्र पाण्डे, दत्त बुढा, लक्ष्मण ऐडीको उम्मेदवारी परेको थियो।

लामाको नाम सुशीला कार्की सरकारको मन्त्रीका रुपमा चर्चामा आएको थियो । उनी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीमा लगभग फाइनल नै भएकी थिइन् । तर, उनको नागरिकता लगायतका विषयहरु विवादास्पद रहेको देखाउदै प्रधानमन्त्री कार्की आफ्नो निर्णयबाट पछि हटिन् ।

रास्वपाबाट लामाले टिकट पाएसँगै हुम्लामा नेकपा (एमाले) बाट दल फडेरा , राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट नवीन शाही र प्रजातान्त्रिक लोकतान्त्रिक पार्टी (प्रलोपा) बाट जटिल कार्कीले टिकट पाएका छन् । यस्तै नेकपाबाट डा. दिपेन्द्र रोकाया, नेपाली काङ्ग्रेसबाट जयपति रोकाया, श्रम संस्कृति पार्टीबाट मुटुब लामा र उज्यालो नेपाल पार्टीबाट विष्णु महताराले टिकट पाएका हुन् भने अन्य दलहरूले उम्मेदवार टुंगो लगाउन बाँकी रहेको छ ।

आज निर्वाचन आयोगमा उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यतालिका छ । सोही अनुसार हुम्लाबाट उम्मेदवार दिएका सम्पूर्ण दलका नेता तथा कार्यकर्ता जिल्ला सदरमुकाम सिमकोट पुगिसकेको जानकारी प्राप्त भएको छ।

प्रकाशित मिति : २०८२ माघ ६ गते मंगलबार