२०८३ वैशाख १० , बिहीबार

हुम्लामा ५९५ जना निर्वाचन प्रहरीका लागि दरखास्त आह्वान



प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गरी हुम्ला जिल्लामा ५ सय ९५ जना निर्वाचन प्रहरी (म्यादी प्रहरी) का लागि दरखास्त आह्वान गरिएको छ।

निर्वाचन प्रहरी छनोट तथा नियुक्ति समिति हुम्लाका अनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको मातहतमा खटिने गरी एकीकृत रूपमा निर्वाचन प्रहरी भर्ना खोल्ने निर्णय गरिएको हो।

यसअन्तर्गत नेपाल प्रहरीतर्फ ५ सय ४९ जना र सशस्त्र प्रहरीतर्फ ४६ जनाको आवेदन माग गरिएको छ।

पुस २५ गतेदेखि खुलेको भर्ना आवेदन माघ १ गतेसम्म रहने जनाइएको छ। दरखास्त दिने समय बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म तोकिए पनि अत्यधिक संख्यामा आवेदन परेकाले सो समयभित्र आवेदन लिन नसकिएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रवक्ता विष्णु श्रेष्ठले जानकारी दिए।

उनका अनुसार भर्ना आह्वान गरिएको तीन दिनमै ३ सय ४५ जनाभन्दा बढीले आवेदन दिइसकेका छन्।

निर्वाचन प्रहरीको नियुक्ति अवधि ४० दिनका लागि रहनेछ भने आवश्यकता अनुसार सरकारले अवधि थप गर्न सक्ने व्यवस्था रहेको छ।

निर्वाचन प्रहरीले प्रतिदिन ८ सय ६९ रुपैयाँका दरले पारिश्रमिक पाउनेछन्, जसअनुसार ४० दिनको कुल पारिश्रमिक ३४ हजार ७ सय ७६ रुपैयाँ तोकिएको छ।

हुम्लामा प्रतिनिधि सभा सदस्यका लागि एक र प्रदेश सभा सदस्यका लागि दुई वटा निर्वाचन क्षेत्र रहेका छन्। जिल्लामा कुल ३४ हजार ३ सय ७२ जना मतदाता रहेका छन्, जसमा १८ हजार २१ जना पुरुष र १६ हजार ३ सय ५१ जना महिला छन्। जिल्लाभर ६० मतदान स्थलमा ६४ मतदान केन्द्र तोकिएको छ।

प्रकाशित मिति : २०८२ पुस २८ गते सोमबार