सुर्खेतको चौकुने गाउँपालिकाले पालिकाभित्र घुम्ती व्यापार गर्ने व्यवसायीहरूका लागि दैनिक शुल्क लागू गरेको छ।

गाउँकार्यपालिकाको निर्णयअनुसार ठेला, साइकल, मोटरसाइकल तथा सवारीसाधन प्रयोग गरी घुम्ती व्यापार सञ्चालन गर्नेहरूले अब तोकिएको दरअनुसार दैनिक शुल्क बुझाउनुपर्नेछ।
गाउँपालिकाद्वारा जारी सूचनाअनुसार कुल्ली, बोरा वा झोलामार्फत व्यापार गर्नेले प्रतिदिन ५० रुपैयाँ, साइकल प्रयोग गरी व्यापार गर्नेले ७५ रुपैयाँ, मोटरसाइकलमार्फत व्यापार गर्नेले १०० रुपैयाँ तथा गाडी प्रयोग गरी व्यापार गर्नेले प्रतिदिन ५०० रुपैयाँ शुल्क तिर्नुपर्ने व्यवस्था गरिएको छ।
गाउँपालिकाले तोकिएको राजस्व नबुझाई घुम्ती व्यापार सञ्चालन गरेको पाइएमा कानुनअनुसार कारबाही गरिने चेतावनी दिएको छ।
उक्त निर्णय कार्यान्वयनका लागि इलाका प्रहरी कार्यालय गुटु तथा सम्बन्धित अस्थायी प्रहरी चौकीहरूलाई समेत जानकारी गराइएको गाउँपालिकाले जनाएको छ।
यसैबीच, गाउँपालिकाको यो निर्णयप्रति स्थानीय तहका केही व्यवसायी तथा सर्वसाधारणले सामाजिक सञ्जालमार्फत आलोचना गरेका छन्।
उनीहरूले आर्थिक रूपमा कमजोर वर्गलाई असर पर्ने भन्दै निर्णय पुनरावलोकन गर्न माग गरेका छन्।











प्रतिक्रिया दिनुहोस्