२०८३ वैशाख १० , बिहीबार

फागुनमा हुने निर्वाचनका लागि हुम्लामा थपिए ३७२ नयाँ मतदाता



आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हुम्ला जिल्लामा ३ सय ७२ नयाँ मतदाता थपिएका छन्।

जिल्ला निर्वाचन कार्यालय हुम्लाका प्रमुख भिम बहादुर रोकायाका अनुसार शुक्रबारसम्म दर्ता भएका नयाँ मतदातामध्ये २ सय ३ पुरुष र १ सय ६९ महिला छन्।

यसअघि जिल्लामा ३३ हजार ३ सय ८ जना मतदाता थिए। नयाँ नाम दर्ता भएपछि अब हुम्लाको कुल मतदाता संख्या ३३ हजार ६ सय ८० पुगेको प्रमुख रोकायाले जानकारी दिए।

प्रमुख रोकाय अनुसार कति मतदाताले बायोमेट्रिक र राष्ट्रिय परिचयपत्रमार्फत नाम दर्ता गराएका हुन् भन्ने अन्तिम विवरण भने आइनसकेको छ।

निर्वाचन आयोगले असोजदेखि १६ वर्ष उमेर पुगेका नेपाली नागरिकको मतदाता नामावली संकलन सुरु गरेको थियो।

नामावली सङ्कलनको म्याद कार्तिक मसान्तसम्म रहे पनि सहभागिता बढी देखिएपछि आयोगले म्याद विस्तार गरी मंसिर ५ गतेसम्म नाम दर्ता गर्न सकिने व्यवस्था गरेको हो।

प्रकाशित मिति : २०८२ मंसिर ७ गते आइतबार