सुर्खेतको बराहताल गाउँपालिका–४ मा अवस्थित जिल्लाकै ठुलो ताल बराहताल परिसरमा सरसफाइ अभियान सम्पन्न भएको छ। गाउँपालिकाको समन्वयमा स्थानीय समुदाय र कर्णाली प्रदेश प्रहरी कार्यालयको सहयोगमा ताल क्षेत्र वरपरको फोहाेर हटाइ प्राकृतिक रूपमै पुनर्स्थापना गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको हो।

सरसफाइ अभियानअन्तर्गत ताल वरपर फेला पर्ने प्लास्टिकजन्य फोहाेर, घरेलु फोहोर, हानिकारक बोटबिरुवा र झाडी हटाइने कार्य गरिएको थियो। गाउँपालिका अध्यक्ष भिमबहादुर भण्डारीले यी गतिविधिलाई दीर्घकालीन ताल संरक्षण योजनाको प्रारम्भिक आधारका रूपमा लिएको बताए। ‘बराहताल हाम्रो प्राकृतिक सम्पदा मात्र होइन, सांस्कृतिक पहिचान बोकेको अमूल्य धरोहर हो। यहाँको सरसफाइ र संरक्षणमा स्थानीयको सक्रियता देखेर हामी उत्साहित छौँ,’ अध्यक्ष भण्डारीले भने।
उनका अनुसार आन्तरिक पर्यटकका लागि आवश्यक पूर्वाधार निर्माण चुनौतीपूर्ण भए पनि बराहताललाई आकर्षक गन्तव्यका रूपमा विकास गर्न पर्याप्त सम्भावना रहेका छन्। करिब १६ बिघा क्षेत्रफलमा फैलिएको यो ताल संरक्षण र पर्यटकीय व्यवस्थापनका लागि गाउँपालिकाले डुङ्गा सञ्चालन गर्ने उद्देश्यले टेन्डरसमेत आह्वान गरिसकेको उनले जानकारी दिए।

कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रामप्रसाद घर्तीले वातावरण संरक्षणलाई प्रहरीको सामाजिक उत्तरदायित्वसँग जोडिएको बताए। ‘हाम्रो प्राथमिकता सुरक्षा हो, तर समाजको समग्र हितमा काम गर्न हामी प्रतिबद्ध छौँ,’ उनले भने। स्थानीय तहसँगको सहकार्यले प्राकृतिक स्रोत र वातावरण जोगाउन प्रभावकारी योगदान पुर्याइरहेको उनले बताए।

यस्तै, बराहताल गाउँपालिका–४ का वडा अध्यक्ष बिर्खबहादुर सिजापतिका अनुसार ताल क्षेत्रमा स्थायी फोहर व्यवस्थापन संरचना नहुँदा वर्षौँदेखि समस्या बढ्दै आएको थियो। ‘गाउपालिका, प्रहरी र समुदाय मिलेर काम गर्दा कति राम्रो नतिजा देखिन्छ भन्ने आजको अभियानले प्रस्ट पारेको छ,’ उनले भने। यस्ता अभियान निरन्तर भए बराहताल फेरि पुरानै आकर्षक रूपमै फर्किन्छ।
सरसफाइ अभियानमा सहभागी स्थानीय अस्मिता शाहीले सामूहिक सरसफाइलाई घर–परिवारको सरसफाइ जत्तिकै महत्वका साथ हेरिनुपर्ने बताइन्। ‘महिलाहरू दैनिक रूपमा ताल क्षेत्र प्रयोग गर्छन्। पानी, वातावरण र स्वास्थ्य एक–अर्कासँग गाँसिएका विषय हुन्। ताल सफा हुँदा बस्ती, स्वास्थ्य र पर्यटनमा प्रत्यक्ष सुधार हुन्छ,’ शाहीले भनिन्।






