२०८३ मंसिर ११ , शुक्रबार

गोरखामा पहिरोले रेमुनाङ खोला थुनियो, डेढ सय मिटर लामो ताल बन्यो



गोरखाको साम्दोस्थित लार्के बजार पारिपट्टि सुक्खा पहिरो खस्दा रेमुनाङ खोला थुनिएको छ। पहिरोका कारण खोलामा करिब डेढ सय मिटर लामो ताल बनेको स्थानीयले बताएका छन्।

खोला थुनिएर बनेको ताल फुट्न सक्ने जोखिम रहेकाले बुढीगण्डकी नदीको तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ। ताल एकैपटक फुटेमा बुढीगण्डकी आसपासका क्षेत्रमा ठूलो बाढी आउन सक्ने स्थानीयको चिन्ता छ।

घटनास्थलमा रहेका स्थानीय निमा दोर्जेका अनुसार तत्काल ताल फुटिहाल्ने अवस्था भने छैन। आवश्यक उपकरण उपलब्ध भए खोलाको अवरोध हटाउन सकिने उनले बताएका छन्।

उनका अनुसार रेमुनाङ खोला बुढीगण्डकीको मुहान नजिकै रहेको छ। ताल फुटेमा ठूलो बाढी आउन सक्ने भएकाले समयमै सावधानी अपनाउनुपर्ने उनको भनाइ छ।

यसैबीच, गोरखा प्रहरीले पनि पहिरो खसेर खोला थुनिएको सूचना प्राप्त भएको जनाएको छ। गोरखा प्रहरी प्रमुख एसपी अनिल खड्काले घटनाबारे जानकारी प्राप्त भएको र स्थानीयसँग सम्पर्क भइरहेको बताएका छन्।

आवश्यकता परेमा प्रहरीले थप सूचना जारी गर्ने उनको भनाइ छ।

प्रकाशित मिति : २०८३ कात्तिक २० गते शुक्रबार

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन।