२०८३ भदौ २६ , शुक्रबार

ग्यास अभाव हुन नदिन निजी प्लान्टसँग सहकार्य गर्दै साल्ट ट्रेडिङ



साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले खाना पकाउने एलपी ग्यासको आपूर्ति सहज बनाउन निजी ग्यास कम्पनीसँग सहकार्य गर्दै आफ्ना ‘एसटीसी सिलिन्डर’मा ग्यास भर्न थालेको छ।

गत आइतबार धादिङको कृष्णभीरमा त्रिशूली नदीले सडक कटान गरेपछि पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको थियो। राजमार्ग अवरुद्ध भएपछि धादिङको जुगेखोलास्थित साल्ट ट्रेडिङको एलपीजी प्लान्टमा ग्यासका बुलेट ल्याउन समस्या भएपछि कर्पोरेशनले वैकल्पिक आपूर्ति व्यवस्थाको सुरुवात गरेको हो।

कर्पोरेशनले सहज स्थानमा रहेका निजी ग्यास प्लान्टसँग सहकार्य गरी आफ्ना खाली सिलिन्डरमा ग्यास भरेर वैकल्पिक मार्ग हुँदै काठमाडौं उपत्यकामा ल्याउने व्यवस्था मिलाएको जनाएको छ। हाल मनोज र बाबा ग्यासका प्लान्टमा एसटीसीका सिलिन्डरमा ग्यास भर्ने काम भइरहेको छ।

कर्पोरेशनका सहायक प्रमुख कार्यकारी अधिकृत बज्रेश झाले विपद्को अवस्थामा उपभोक्तालाई ग्यासको अभाव हुन नदिन वैकल्पिक व्यवस्था गरिएको जानकारी दिए। उनका अनुसार पहिलो चरणमा निजी प्लान्टमा भरिएका एसटीसीका ग्यास सिलिन्डर शुक्रबारसम्म काठमाडौं आइपुग्नेछन्।

कर्पोरेशनले आफ्नो ग्यास प्लान्टका लागि छुटेका केही ग्यासका बुलेटसमेत निजी कम्पनीतर्फ ‘डाइभर्ट’ गरेको जनाएको छ।

सीमित कोटाबीच चुस्त वितरण

नेपाल आयल निगमले कर्पोरेशनलाई न्यून परिमाणमा ‘पीडीओ’ उपलब्ध गराउँदा मागअनुसार ग्यास बिक्री गर्न समस्या भइरहेको कर्पोरेशनले जनाएको छ।

निगमले भारतीय आयल कर्पोरेशनसँग कुल तीन हजार २५ ग्यास बुलेटको सम्झौता गरेकोमा त्यसको करिब दुई प्रतिशत अर्थात् ५३ वटा बुलेट मात्र साल्ट ट्रेडिङको भागमा पर्ने गरेको जनाइएको छ। कर्पोरेशनले हाल मासिक करिब ५५ हजारदेखि ६० हजार एसटीसी सिलिन्डर खपत गर्दै आएको छ।

पछिल्लो समय खाडी क्षेत्रको संकट, पृथ्वी राजमार्ग अवरुद्धलगायतका कारण निजी ग्यास कम्पनीबाट आपूर्तिमा समस्या देखिँदा उपभोक्ता प्रभावित हुँदै आएका छन्। कर्पोरेशनले भने ग्यास वितरणलाई सहज बनाउन हाल कुपन प्रणाली लागू गरेको छ।

सहायक प्रमुख कार्यकारी अधिकृत झाले कुपन वितरणकै क्रममा उपभोक्ताले ग्यास प्राप्त गर्ने दिनसमेत सुनिश्चित गरिने बताए।

छ महिनालाई पुग्ने नुन मौज्दात

साल्ट ट्रेडिङले आयोडिनयुक्त नुनको आपूर्ति सहज बनाउन करिब छ महिनालाई पुग्ने मौज्दात राखेको जनाएको छ।

कर्पोरेशनका अनुसार भदौ १७ गतेसम्म देशभरका भण्डारणमा एक लाख २७ हजार ३६१ मेट्रिकटन आयोडिनयुक्त नुन मौज्दात रहेको छ। नेपालमा वार्षिक दुई लाख टनभन्दा बढी आयोडिनयुक्त नुनको माग हुने गरेको छ। कर्पोरेशनले गत आर्थिक वर्षमा करिब दुई लाख १० हजार टन नुन बिक्री वितरण गरेको थियो।

सरकारले आयोडिनयुक्त नुनको सर्वसुलभ पहुँच सुनिश्चित गर्दै आएको छ। आयोडिन शरीरका लागि आवश्यक अतिसूक्ष्म पोषक तत्व हो। सरकारले दुई बालबालिकाको चिन्ह भएको प्याकेटको नुन प्रयोग गर्न र ‘थोरै खाऔँ, सही मात्रामा खाऔँ’ भन्ने सन्देश दिँदै आएको छ।

उपभोक्तावादीहरूले नुनजस्तो अत्यावश्यक वस्तुलाई सरकारको नीतिभित्रै राख्नुपर्ने र यसको बिक्री वितरणमा निजी क्षेत्रलाई प्रवेश गराउन नहुने बताउँदै आएका छन्। विपद् तथा असहज परिस्थितिमा अत्यावश्यक वस्तुको आपूर्ति सुनिश्चित गर्न सार्वजनिक संस्थाको भूमिका महत्वपूर्ण हुने उनीहरूको तर्क छ।

चिनीमा पनि बजार हस्तक्षेप

यसैबीच, अन्तर्राष्ट्रिय बजारमा चिनीको मूल्य बढिरहेका बेला साल्ट ट्रेडिङले बजार हस्तक्षेप गर्दै चिनीको बिक्री वितरणलाई चुस्त बनाएको जनाएको छ।

निजी क्षेत्रबाट प्रतिकिलो १३५ रुपैयाँसम्ममा बिक्री भइरहेको चिनी साल्ट ट्रेडिङले प्रतिकिलो १०० रुपैयाँमा बिक्री गर्दै आएको छ। कर्पोरेशनका अनुसार भदौ ९ गते मात्रै ६०० टन चिनी आयात गरिएको थियो भने हालसम्म करिब तीन हजार टन चिनी बजारमा पठाइसकिएको छ।

चामल, दाल, गेडागुडी, तेललगायत दैनिक उपभोग्य वस्तुको मूल्य बढिरहेको अवस्थामा कर्पोरेशनले आफूले बिक्री वितरण गर्दै आएका खाद्यवस्तुको मूल्य स्थिर राख्न सफल भएको दाबी गरेको छ।

सहायक प्रमुख कार्यकारी अधिकृत झाले सरकारी–निजी स्वामित्वको कर्पोरेशनको मुख्य उद्देश्य नाफा कमाउनु मात्रै नभई असहज तथा विपद्को अवस्थामा समेत नुन, ग्यासलगायत अत्यावश्यक उपभोग्य वस्तुको निरन्तर आपूर्ति सुनिश्चित गर्नु रहेको बताए।

विपद्का बेला बजारमा आपूर्ति प्रणाली प्रभावित हुने भएकाले अत्यावश्यक वस्तुको नियमित आपूर्ति तथा बजार हस्तक्षेपमा सार्वजनिक संस्थाको भूमिका झनै महत्वपूर्ण हुने देखिएको छ।

प्रकाशित मिति : २०८३ भदौ १८ गते बिहीबार

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन।