२०८३ भदौ २६ , शुक्रबार

रुकुम पश्चिममा ईभीको ठक्करबाट आमा–छोरीको मृत्यु



रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा ईभी गाडीको ठक्करबाट आमा–छोरीको मृत्यु भएको छ।

आइतबार सानीभेरी गाउँपालिका–८ एकान्तस्थित मध्यपहाडी लोकमार्गमा सिम्लीबाट चौरजहारीतर्फ जाँदै गरेको ईभी गाडीले ठक्कर दिँदा २६ वर्षीया स्वस्तिका पौडेल र उनकी दुई वर्षीया छोरी शान्दिका ज्ञवालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ।

प्रहरीका अनुसार गुल्मीको रुरु क्षेत्र गाउँपालिका–४ बलेटक्सार घर भई हाल लक्ष्मी सनराइज बैंक, मुसिकोट खलंगामा कार्यरत घनश्याम ज्ञवालीकी श्रीमती स्वस्तिका र छोरी शान्दिका मुसिकोट खलंगाबाट सुर्खेततर्फ जाँदै गरेको क.प्र.०२–००१ ख १०७० नम्बरको फोर्स गाडीमा यात्रा गरिरहेका थिए।

छोरीलाई शौचालय लागेपछि सानीभेरी–८ मा गाडी रोकेर आमा–छोरी दुवै सडक पार गर्दै शौचालयतर्फ जाने क्रममा सिम्लीबाट चौरजहारीतर्फ जाँदै गरेको भे.१ ज.१४८२ नम्बरको ईभी गाडीले उनीहरूलाई ठक्कर दिएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका दुवैलाई उपचारका लागि जिल्ला अस्पताल सल्ले ल्याइएको थियो। उपचारकै क्रममा आइतबार बिहान ९ः३० बजे चिकित्सकले उनीहरूलाई मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक झबिन्द्र परियारले जानकारी दिए ।

प्रहरीले ईभी चालक सानीभेरी गाउँपालिका–३ चौखेका २२ वर्षीय अम्मर विकलाई नियन्त्रणमा लिएको छ। ईभी गाडी घटनास्थलमै रहेको प्रहरीले जनाएको छ।

घटनाको अनुसन्धान तथा आवश्यक व्यवस्थापनका लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक हेमन्त गिरीको कमान्डमा ट्राफिकसहित ११ जना र इलाका प्रहरी कार्यालय चौरजहारीबाट प्रहरी निरीक्षक अजय डाँगीको कमान्डमा १३ जनाको टोली घटनास्थलमा खटिएको छ।

प्रकाशित मिति : २०८३ भदौ ७ गते आइतबार

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन।