२०८३ भदौ २६ , शुक्रबार

जाजरकोट पहिरोमा मृत्यु हुनेको संख्या तीन पुग्यो, दुई अझै बेपत्ता



अविरल वर्षाका कारण जाजरकोटको भेरी नगरपालिका–२ स्थित रिसाङ इलाकामा आएको लेदोसहितको पहिरोमा परी मृत्यु हुनेको संख्या तीन पुगेको छ । पहिरोमा परी बेपत्ता भएका दुई जनाको खोजीकार्य जारी छ ।

बुधबार साँझ ५ः३० बजे आएको पहिरोमा परी घाइते भएका भेरी नगरपालिका–२ साल्धारा निवासी ५२ वर्षीय केदार कार्कीको उपचारका क्रममा मृत्यु भएको हो । जिल्ला अस्पताल जाजरकोटमा उपचारपछि नेपालगन्जस्थित मेडिकल कलेज कोहलपुर रिफर गरिएका कार्कीको उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।

यसअघि पहिरोमा परी बेपत्ता भएका चार जनामध्ये सोही ठाउँका ५४ वर्षीय उमा सिंह खत्री र ८३ वर्षीय रति खत्रीको शव खोजीका क्रममा फेला परेको थियो ।

पहिरोमा परी भेरी नगरपालिका–२ का ६२ वर्षीय रामबहादुर शाही, ४५ वर्षीय सिद्धिबहादुर कामी, ५८ वर्षीय कमला कार्की, २३ वर्षीय अनिता कार्की, १० वर्षीय युनिस शाही, ४५ वर्षीय सुन्तली चदरा र ६१ वर्षीय भद्रकला कार्की घाइते भएका छन् । घाइतेमध्ये रामबहादुर शाही र भद्रकला कार्कीको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि नेपालगन्ज र सुर्खेत पठाइएको छ ।

पहिरोमा बेपत्ता भएकाहरूको खोजी तथा उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल गुल्म जाजरकोट र नेपाल प्रहरीको संयुक्त टोली परिचालन गरिएको छ । सशस्त्र प्रहरी निरीक्षक कमल कार्कीको कमान्डमा विपद् व्यवस्थापनसम्बन्धी तालिम प्राप्त सशस्त्र प्रहरीसहितको टोली खोजीमा खटिएको छ ।

हाल भेरी नगरपालिका–२ चिसापानीका ७० वर्षीय भीमबहादुर कार्की र गैरीगाउँका १४ वर्षीय हरिस विक अझै बेपत्ता छन् । हरिस पहिरोपछि घरबाट बाहिर निस्किएपछि सम्पर्कविहीन भएका हुन् । उनीहरूको खोजी तथा उद्धारका लागि परिचालित टोलीले खोजीकार्य जारी राखेको छ ।

प्रकाशित मिति : २०८३ साउन ३१ गते आइतबार

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन।