२०८३ भदौ २६ , शुक्रबार

नेपालगञ्ज उपमहानरका जनप्रतिनिधिसहित चार जनाबिरुद्ध भ्रष्टाचार मुद्दा



अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपालगञ्ज उपमहानगरपालिका–२० का वडाध्यक्ष कौशलकुमार धोबी र वडा सचिव वीरबहादुर थापा मगरसहित चार जनाविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार वडाध्यक्ष धोबी, वडा सचिव थापा मगर तथा भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाका प्रतिवादी विकासकुमार चापागाईं र रवीन्द्र लामिछानेविरुद्ध सोमबार आरोपपत्र दायर गरिएको हो।

आयोगले सरकारी कागजातमा फेरबदल गरी गलत लिखत तयार गरेर विशेष अदालतमा विचाराधीन सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा प्रमाण सिर्जना गर्न खोजेको आरोप लगाएको छ।

आयोगका अनुसार वडाध्यक्ष धोबीमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ र ११ बमोजिमको कसुरमा सोही दफाअनुसार कैद र जरिवानाको सजाय मागदाबी गरिएको छ। वडा सचिव थापा मगरमाथि भने ऐनको दफा ९ बमोजिम कैद र जरिवानाको मागदाबी गरिएको छ।

त्यस्तै, बाँके नेपालगञ्ज–२० का रवीन्द्र लामिछाने र उदयपुरको चौदण्डीगढी नगरपालिका–५ का विकासकुमार चापागाईंलाई गैरकानुनी लाभ लिने प्रकृतिको मतियार भएको आरोप लगाउँदै भ्रष्टाचार निवारण ऐनको दफा २२ बमोजिम मुख्य कसुरदारसरह सजायको मागदाबी गरिएको आयोगले जनाएको छ।

अख्तियारका अनुसार चारै जनाको मिलेमतोमा विशेष अदालतमा विचाराधीन घुस/रिसवत बुझी सम्पत्ति शुद्धीकरण गरेको मुद्दामा प्रमाण सिर्जना गर्ने उद्देश्यले २०७९ साउन १० गते भक्तपुरको मध्यपुर थिमी नगरपालिका–१७ स्थित कित्ता नम्बर ९९८ को १६४.१४ वर्गमिटर जग्गा खरिदका लागि ७० लाख रुपैयाँ लेनदेन भएको देखाउने झुट्टा तथा नक्कली करारनामा तयार गरिएको थियो।

त्यसपछि वडाध्यक्ष धोबी र वडा सचिव थापा मगरले आफ्नो पद तथा ओहोदाको दुरुपयोग गर्दै २०८३ असार २९ गते चलानी नम्बर ७२४० को विवरणमा फेरबदल गरेको र चलानी नम्बर ७२४२ मार्फत झुट्टा विवरणसहितको गलत लिखत तयार गरी आयोगको अभिलेखमा रहने गरी पत्राचार गरेको अख्तियारको दाबी छ।

प्रकाशित मिति : २०८३ साउन २६ गते मंगलबार

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन।