२०८३ साउन ११ , सोमबार

बाजुरामा यात्रुबाहक जिप दुर्घटना, ९ जना घाइते



हिमाली गाउँपालिका–५, क्युडीस्थित कुवाडी–क्युडी भित्री कच्ची सडकखण्डमा जिप दुर्घटना हुँदा चालकसहित ९ जना घाइते भएका छन्।

प्रहरीका अनुसार सोमबार दिउँसो करिब १ः२५ बजे सु.प्र.प्र. ०१–००१ ज १८७८ नम्बरको जिप सडकको माथिल्लो मोडबाट करिब १० मिटर तल खसेर दुर्घटना भएको हो।

दुर्घटनामा जिप चालक हिमाली गाउँपालिका–२ नातीखोला निवासी २५ वर्षीय जनवीर बुढासहित ९ जना घाइते भएका छन्। घाइतेमध्ये ४ जनाको अवस्था मध्यम र ५ जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

घाइते हुनेमा हिमाली गाउँपालिका–२ नातीखोलाका ४० वर्षीय धर्मलाल बुढा र ३१ वर्षीया मिजरा बुढा तथा हुम्लाको ताजाकोट गाउँपालिका–५ का ४० वर्षीय अम्मर सिंह बुढा, २० वर्षीया अस्मिता थापा, २८ वर्षीय जंग सिंह बुढा, २० वर्षीय गोरख रोकाया, २७ वर्षीय लोकेन्द्र बुढा र ९ वर्षीया सुस्मा बुढा रहेका छन्।

घाइते सबैलाई उपचारका लागि अस्पताल पठाउने पहल भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०८३ साउन ४ गते सोमबार

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन।