२०८३ भदौ ३१ , बुधबार

कर्णाली नदीमा बेपत्ता एक जनाको शव कैलालीमा भेटियो



 असार १८ गते सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको क प्र ०२–००१ ख १०५५ नम्बरको सवारीसाधन दुर्घटनामा परी कर्णाली नदीमा बेपत्ता भएका चार जनामध्ये एक जनाको शव कैलालीमा भेटिएको छ।

कैलालीको मोहन्याल गाउँपालिका–६ मा भेटिएको शव पचालझरना गाउँपालिका–९, कालिकोटका ६२ वर्षीय मेखे तिरुवाको भएको पुष्टि भएको छ। मृतकका छोरा रवीन्द्र तिरुवाले शव पहिचान गरेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए।

इलाका प्रहरी कार्यालय चिसापानी, कैलालीका प्रमुख प्रहरी निरीक्षक मीरा खड्काले पनि भेटिएको शव मेखे तिरुवाकै रहेको पुष्टि गरेकी छन्।

प्रहरीका अनुसार दुर्घटनापछि बेपत्ता भएका रास्कोट नगरपालिका–२, खड्कागाउँ कालिकोटकी सिर्जना खड्का, पञ्चपुरी नगरपालिका–८, माझीगाउँ सुर्खेतका चालक तुलाराम सुवेदी र सहचालक रामप्रसाद सुवेदीको खोजी जारी छ। दुर्घटनामा परेको सवारीसाधन पनि अझै फेला परेको छैन।

उक्त सवारी दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ स्थित साङगेतडामा दुर्घटना भएर कर्णाली नदीमा खसेको थियो।

बेपत्ता व्यक्ति तथा सवारीसाधनको खोजीका लागि ‘रिभर भेहिकल म्याग्नेट’, सोनार, ड्रोन र बोरेस्कोप क्यामरासहित उच्च प्रविधियुक्त गोताखोर टोली परिचालन गरिएको छ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनासहित करिब एक सय जनशक्ति पाँच दिनदेखि खोजी कार्यमा खटिएका छन्।

प्रकाशित मिति : २०८३ असार २३ गते मंगलबार

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन।