
नेपाल राष्ट्र बैंकले ३५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र २०८४ ‘क’ बिक्रीका लागि बोलकबोल आह्वान गरेको छ। राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले सोमबार सूचना जारी गर्दै अनलाइन प्रणालीमार्फत ऋणपत्रको बोलकबोल गर्न सकिने जनाएको हो।
सूचनाअनुसार बोलकबोल प्रक्रियामा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था (काउण्टरपार्टी) मात्र सहभागी हुन सक्नेछन्। बोलकबोलमा सहभागी संस्थाले आफूले खरिद गर्न चाहेको रकम र प्रस्तावित ब्याजदर (दशमलवपछि चार अङ्कसम्म) उल्लेख गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ।
राष्ट्र बैंकका अनुसार न्यूनतम पाँच करोड रुपैयाँदेखि अधिकतम कुल आह्वान गरिएको ३५ अर्ब रुपैयाँसम्म, पाँच करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी बोलकबोल गर्न सकिने व्यवस्था गरिएको छ।
राष्ट्र बैंकले तरलता व्यवस्थापन तथा मौद्रिक नीति कार्यान्वयनका लागि समय–समयमा यस्ता ऋणपत्र जारी गर्दै आएको छ।








