हुम्लाको संसदीय इतिहासमा पहिलो पटक प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ महिला उम्मेदवार टासी ल्हाजाेम देखिएकी छन्। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी हुम्लाकी नेतृ ल्हाजाेम मैदानमा आएकि हुन् ।

यस अघि रास्वपाको समानुपातिक सूचीमा रहेकी जेनजी अभियन्ता टासी ल्हाजोमको नाम बन्दसूचीबाट हटाएको थियो । भूराजनीतिक चासो उत्पन्न भएको भन्दै रास्वपाले ल्हाजाेमकाे नाम हटाएको बताएको हो । भने तत्कालिन सुशीला कार्की नेतृत्व सरकारमा मन्त्री बन्ने तयारीमा रहेकी ल्हाजाेमकाे बारेमा विभिन्न विवाद आएको भन्दै अन्तिम घडीमा नाम काटिएको थियो ।
उनी हिमाली क्षेत्रको पर्यावरण, संस्कृति आदि क्षेत्रमा अध्ययन गरेकी अध्येता हुन् । जेनजी आन्दोलनपछि उनी रास्वपा प्रवेश गरेकी थिइन् । यसरी विभिन्न उतारचढावका बिचमा अन्तत रास्वपा हुम्लाबाट प्रतिनिधि सभाको प्रत्येक्षतर्फको उम्मेद्वार बन्दै मैदानमा आएकी हुन् ।
प्रत्यक्षतर्फ भएका निर्वाचनहरूमा हालसम्म हुम्लाबाट महिला उम्मेदवार नदेखिएका बेला रास्वपा नेतृ ल्हाजाेमकाे उम्मेदवारीलाई ऐतिहासिक उपलब्धिका रूपमा हेरिएको छ। यसले ग्रामीण तथा दुर्गम क्षेत्रका महिलालाई राजनीतिमा अघि बढ्न प्रेरणा दिने अपेक्षा गरिएको छ।
निर्वाचनको मिति नजिकिँदै गर्दा ल्हाजाेमको उम्मेदवारीले हुम्लाका ठुला दलका नेताहरूलाई सकस भएकाे छ। टासीकाे उम्मेदवारीले नाम्खा गाउँपालिकाकाे नेपाली कम्युनिस्ट (नेकपा), नेकपा एमाले, नेपाली काँग्रेस पार्टीको मत निकै काट्ने देखिएपछि चुनाव राेचक बन्दै गएकाे छ।
नेपालको संविधानले समावेशीतालाई जोड दिए पनि प्रत्यक्ष निर्वाचनमा महिलाको सहभागिता हुम्लामा अझै शून्य रहँदै आएको थियो । प्रतिनिधि तथा प्रदेश सभाको समानुपातिक प्रणालीबाट महिला सांसद बने पनि प्रत्यक्ष प्रणालीबाट अहिले सम्म हुम्लाबाट महिला नेतृ अगाडि बढेको पाईदैन ।
यस अघि हुम्लाबाट नेपाली काँग्रेसकी नेतृ रिता शाही संविधान सभा सदस्य भएकी थिन्। उनी २०७० सालको संविधान सभा निर्वाचनपछि समानुपातिक प्रणाली मार्फत दोस्रो संविधान सभा सदस्य बनेकी थिइन्। उनको कार्यकाल २०७० देखि २०७४ सालसम्म रहेको थियो।
संविधान सभा सदस्यका रूपमा उनले नयाँ संविधान निर्माण प्रक्रियामा सहभागिता जनाएकी थिइन्। दोस्रो संविधान सभाले नै २०७२ सालमा नेपालको संविधान जारी गरेको थियो, जसमा उनको पनि प्रतिनिधित्व रहेको थियो।
यसैगरी, नेपाली काँग्रेस हुम्लाकी नेतृ रंगमति शाही पनि सांसद बनेकी थिईन् । उनी २०७४ सालको प्रतिनिधि सभा निर्वाचनपछि समानुपातिक निर्वाचन प्रणाली मार्फत संघीय संसदको प्रतिनिधि सभामा सदस्य बनेकी थिइन्। उनको कार्यकाल २०७४ देखि २०७९ सम्म रहेको थियो। पार्टीभित्र पनि उनी लामो समयदेखि सक्रिय महिला नेतृका रूपमा परिचित छन्।
यता, समानुपातिक प्रणालीतर्फबाटै विजया बुढा कर्णाली प्रदेशकी प्रदेश सभा सदस्य तथा हाल प्रदेश मन्त्री बनेकी छन्। उनी २०७९ सालको कर्णाली प्रदेश निर्वाचनमा नेपाली काँग्रेसको प्रदेश सभा समानुपातिक सांसदको रूपमा निर्वाचित भएकी हुन्। २०८१ साउनमा कर्णाली प्रदेश सरकार जलस्रोत तथा ऊर्जा विकास मन्त्रीको रूपमा नियुक्त भई हाल कार्यरत छन् ।
भने तत्कालिन नेकपा माओवादी केन्द्र हुम्लाकी नेतृ जुम्कीत लामा (कार्की) कर्णाली प्रदेश सभा सदस्य हुन्। उनी २०७९ सालको प्रदेश सभा निर्वाचनमा समानुपातिक प्रणालीमार्फत निर्वाचित भएकी थिईन्।









