हिमाली जिल्ला हुम्लामा आगामी फागुन २१ कोे निर्वाचनका लागि ६० मतदान स्थलअन्तर्गत ६४ मतदान केन्द्र तोकिएका छन्। तीमध्ये केवल ५ केन्द्रमा मात्रै महिला मतदान अधिकृत खटाइएका छन् भने बाँकी ५९ केन्द्रमा पुरुष अधिकृत रहेका छन्।

निर्वाचन कार्यालय हुम्लाले फागुन ८ गते सार्वजनिक गरेको मतदान केन्द्रमा खटिने कर्मचारीको विवरणमा उक्त नाम उल्लेख छ। निर्वाचन व्यवस्थापनमा महिला सहभागिताको विषय उल्लेख गरेता पनि हुम्लाको सार्वजनिक नामावलीले नेतृत्व तहमा महिलाको उपस्थिति न्यून रहेको संकेत गरेको छ।
सात गाउँपालिकाका ४४ वडामा रहेका मतदान केन्द्र मध्ये अदानचुली गाउँपालिकाको जनकल्याण आधारभूत विद्यालय, कल्खे (मतदाता संख्या ७६९) मा समीक्षा अधिकारी मतदान अधिकृतका रूपमा खटिएकी छन्। चंखेली गाउँपालिकाको महेन्द्र प्राथमिक विद्यालय, मिमि (मतदाता संख्या ५३७) मा सरिता बोहरा, रामशाह आधारभूत विद्यालय, पिप्लाङ्ग (मतदाता संख्या २१२) मा बिनिता महतारा जिम्मेवारीमा रहेकी छन्।
यस्तै, नाम्खा गाउँपालिकाको महावौद्ध माध्यमिक विद्यालय, यालबाङ (मतदाता संख्या २८०) मा पार्वती रोकाया र सुनखानी प्राथमिक विद्यालय, हल्जी (मतदाता संख्या २९३) मा निशा केसी महिला अधिकृतका रूपमा खटाइएका छन् ।









