२०८३ साउन ११ , सोमबार

विद्यालय शिक्षा सुधार्न चार पक्षको साझा प्रतिबद्धता



सुर्खेतको लेकबेसी नगरपालिकाका दुई विद्यालयका विद्यार्थी, प्रधानाध्यापक/शिक्षक, अभिभावक र वडाका जनप्रतिनीधिहरुले विद्यालय शिक्षा सुधार्न प्रतिबद्धता घोषणा गरेका छन् । लेकबेसी नगरपालिका–६ को सरस्वती मावी र वडा नम्बर ७ को लक्ष्मी मावीका यी चार पक्षले शिक्षा सुधार गर्न प्रतिबद्धता घोषणा गरेका हुन् ।

सिमान्तकृत महिलाहरुका लागि महिला संस्था (वाम) सुर्खेतले आयोजना गरेको संवाद कार्यक्रममा बुँदागत प्रतिबद्धता घोषणा गरिएको हो । वामले यी दुई विद्यालयमा विद्यालय सबलीकरणमा विद्यार्थी र अभिभावकको आवाज अभियान सञ्चालन गरिरहेको छ ।

सार्वजनिक शिक्षाको जवाफदेहीताका लागि नागरिक समाजको सशक्तीकरण (सिएसई) कार्यक्रम अन्तर्गत कारखाना समूहसँगको सहकार्यमा उक्त अभियान सञ्चालन गरिएको हो ।

अभियान अन्तर्गत आयोजित संवादमा सामुहिक छलफलबाट विद्यार्थीहरुले विद्यालयमा शिक्षा अधिकार, समावेशी शिक्षा र लैङ्गिक समानताको अभ्यास प्रवद्र्धन गर्न सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन् ।

‘अपाङ्गता, जातियता, वर्ग, लिङ्ग वा आर्थिक अवस्थाका आधारमा हुने कुनै पनि विभेद अस्वीकार गर्छौँ, विद्यालयको सिकाइ वातावरण बालमैत्री र अपाङ्गमैत्री बनाउन पहल गर्छौ ।

विद्यालयका निर्णय, योजना र बजेट प्रक्रियाबारे जानकारी लिने र रचनात्मक सुझाव दिनेछौँ,’ घोषित प्रतिबद्धतामा भनिएको छ ‘विद्यालयमा देखिएका समस्या समाधानका लागि शिक्षक, अभिभावक र व्यवस्थापनसँग समन्वय गर्नेछौँ ।’

अभिभावकहरूले आफ्ना बालबालिकाको विद्यालयमा नियमित उपस्थिती र सिकाइ प्रगतिमा निगरानी राख्ने र प्रत्येक महिना कम्तीमा एक दिन बालबालिकाको नियमित उपस्थिती र सिकाइ प्रगतिबारे बुझ्न विद्यालयमा जाने प्रतिबद्धता जनाएका छन् ।

विद्यालय व्यवस्थापन समिति र अभिभावक-शिक्षक संघलाई सक्रिय र उत्तरदायी बनाउन भूमिका खेल्ने, शिक्षा अधिकार, समावेशी शिक्षा र लैङ्गिक समानताबारे सचेत भई व्यवहारमा उतार्ने प्रतिबद्धता उनीहरुको छ ।

विद्यालयको बजेट तथा कार्यक्रम कार्यान्वयनमा पारदर्शिता सुनिश्चित निरन्तर पहल गर्ने उनीहरुको प्रतिबद्धता छ । ‘विद्यालय सुधारका लागि ‘हरेक दिन एक जना अभिभावक विद्यालयमा’ जस्ता अभियानमा सञ्चालनमा पहल गर्दै विद्यालय, विद्यालय व्यवस्थापन समिति र अभिभावक-शिक्षक संघ सँगको सहकार्यमा कार्यान्वयन गर्नेछौँ,’ घोषित प्रतिबद्धतामा भनिएको छ ।

दुई विद्यालयका प्रधानाध्यापक÷शिक्षकहरूले समावेशी, बालमैत्री तथा अपाङ्गमैत्री शिक्षण पद्धति अवलम्बन गर्ने, शिक्षण सीप तथा क्षमता अभिवृद्धिका लागि नियमित रूपमा तालिम र आत्म-मूल्यांकनमा सहभागी हुने, विद्यार्थीहरूको नेतृत्व र सृजनात्मक क्षमतालाई प्रोत्साहन गर्ने प्रतिबद्धता जनाएका छन् ।

‘विद्यालयमा हुने निर्णय, बजेट तथा कार्यक्रम कार्यान्वयनमा पारदर्शिता कायम गर्नेछौँ । विद्यालयका हरेक गतिविधिहरु सूचना पार्टीमार्फत सबैको पहुँच पुग्ने गरि सार्वजनिक गर्नेछौँ ।

अभिभावकसँग नियमित संवाद र सहकार्य सुदृढ गर्नेछौँ । लैङ्गिक समानता र विभेदरहित सिकाइ वातावरण सुनिश्चित गर्नेछौँ,’ घोषित प्रतिबद्धतामा उल्लेख छ ।

वडाका जनप्रतिनिधिहरूले स्थानीय तहबाट शिक्षा क्षेत्रमा आवश्यक नीति, बजेट र स्रोत सुनिश्चित गर्ने, विद्यालयको भौतिक पूर्वाधार (कक्षा कोठा, शौचालय, खेलमैदान, पहुँचयुक्त संरचना) सुधारमा प्राथमिकता दिने प्रतिबद्धता जनाएका छन् ।

‘विद्यालय व्यवस्थापन समिति र अभिभावक–शिक्षक संघको सुदृढीकरणमा सहयोग गर्नेछौँ । विद्यालयमा पारदर्शी र उत्तरदायी बजेट प्रणाली कार्यान्वयनको अनुगमन गर्नेछौँ,’ प्रतिबद्धतामा भनिएको छ ‘समावेशी शिक्षा संस्थागत गर्न प्रशासनिक र वित्तीय सहयोग उपलब्ध गराउनेछौँ, विद्यार्थी, अभिभावक र शिक्षकबीच नियमित संवाद कार्यक्रमलाई निरन्तरता दिनेछौँ ।’

वाम सुर्खेतका अध्यक्ष देवी पौडेलको अध्यक्षतामा आयोजित संवादको संस्थाका निमित्त कार्यकारी निर्देशक हिक्मत बहादुर नेपालीले सहजिकरण गरेका थिए ।

प्रकाशित मिति : २०८२ फागुन १३ गते बुधबार

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन।